जीतपुरसिमराले चालु आ.ब.मा विजुली र बत्तीका लागि दुई करोड खर्चिदै

रञ्जन यादव
325 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा विजुली र बत्तीका लागि करिब दुई करोड बजेट नाममा छुट्याईएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि उपमहानगरपालिकाको १८ वटा वडा र उपमहानगरपालिकाको कार्यालयले करिब एक करोड ८५ लाख बजेट विनियोजन गरेका छन् । केही वडाले छुट्याएको पोल बत्तीको रकम समेत खर्च गरिसकेका छन् ।

आर्थिकमन्दीले देश नै प्रभावित बनाइरहेको बेला उपमहानगरले यो आर्थिक वर्षमा घाटाको बजेट सार्वजनिक गरेपनि वडाको बजेट शिर्षकमा अनुउत्पादक क्षेत्रको लगानीलाई प्रोत्साहन गरिएको देखिन्छ ।

पोलवत्ती र विजुलीका नाममा वडा नम्बर ७ ले १० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी वडा नम्बर १३ ले सोलार वत्तीकै नाममा १३ लाख, वडा नम्बर १८ ले १० लाख र २४ नम्बर वडाले समेत १० लाख बजेट बिनियोजन गरेका छन ।

यस्तै अन्य केही वडाहरुले पनि २ देखी ५ लाख सम्मको बजेट वत्तीका नाममा विनियोजन गरी करिव २ करोड रकम खर्च हुने देखिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले बिद्युत पोल ब्यवस्थापनको लागि ४० लाख र नगरभरी सोलार बत्ती जडानको लागि २५ लाख गरी ६५ लाख छुट्याएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२,३,४,८,१०, र १६ नम्बर वडा कार्यालयले भने पोल र वत्ती जडान शिर्षकमा बजेट छुट्याएका छैनन् ।

Leave a review

This will close in 0 seconds