विसं २०६९ साउन १२ गते भगीरथलाई कालो दिन लाग्छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकका भगीरथ अध्ययनका लागि इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारे बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यस दिन घरभेटीले घरको छानाको पानी कटाउन पाइपको डुँड लाउँदै थिए । त्यसैबेला घरबेटीले उहाँलाई पनि सहयोगका लागि बोलाए । घरबेटीको वचन काट्न नसकेर सहयोग गर्न जानुपर्ने भयो । जाँदाजाँदै उहाँलाई घरबाट एक मिटर पर रहेको ११ हजार भोल्टेजको लाइनले तानेर टाँस्यो । “एघार हजार भोल्टेज भएको लाइनले केही टाढाबाटै तान्दो रहेछ, झन् त्यो दिन त पानी परेकाले सबैतिर चिसो थियो, तारमा लगेर टाँसेछ मैले त केही पत्तै पाइनँ”, भगीरथले भन्नुभयो, “करेन्ट लागेपछि एक्कासि लाइन गएछ । हात तारमा र खुट्टा छानामा भयो ।”
वरपरका मान्छे भेला भएर भगीरथलाई भुइँमा सुताएछन् । धेरैले मरेको ठानेका रहेछन् तर खुट्टाको औँला चलेपछि ‘सास छ’ भन्दै मङ्गलबारेको अस्पताल लगेछन् । उपचारका लागि त्यहाँबाट इलाम अस्पताल हुँदै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएछ । “म होसमा आउँदा धरानमै अस्पतालमा थिएँ”, भगीरथले भन्नुभयो । उपचारका लागि चार दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नुपर्यो ।
त्यसपछि थप उपचारका लागि ५९ दिन सुषमा कोइराला मेमोरियल ट्रष्टमा बस्नु पर्यो । ट्रष्टमा करेन्ट लागेको हात काट्नै पर्ने अस्पतालले बतायो । “मनमा अनेकौँ कुरा खेल्न थाले तर अब जिन्दगीभर एकै हातको भरमा बाँच्नुपर्छ भन्ने लाग्यो”, भगीरथले अँध्यारो मुख पार्दै भन्नुभयो, “फाल्दा बाँचिन्छ भने फालौँ न त भनेँ ।” उपचार सफल भएर बाँचेपछि भगीरथ भने आफू भाग्यमानी रहेको बताउनुहुन्छ । “दाहिनेतिरबाट लाइनको तारले तानेको थियो तर देब्रे हात बिग्रियो”, उहाँ भन्नुहुन्छ, “देब्रे हातमा घडी लगाएको थिएँ त्यसले पनि छिटो तानेछ ।” उहाँको देब्रे हात चुँडियो भने दाहिने हात र दाहिने खुट्टामा दाग छ ।
यो दुर्घटनाबाट बाँच्नुभएका भगीरथ गत वर्ष मोटरसाइकल दुर्घटनामा पर्नुभयो । समाचार सङ्कलन गर्न जाने क्रममा इलाम चोक बजारमै मोटरसाइकलले ठक्कर दिएपछि एक हप्ता अस्पतालको सम्पर्कमा रहनुभयो । यो दुर्घटनामा पनि उहाँको पहिले दुर्घटनामा परेको हातमै समस्या पर्यो तर दीर्घकालीन समस्या भने आएन ।
पत्रकारितामा भविष्य देख्नुहुन्न
यति धेरै सङ्घर्ष गरे पनि उहाँ पत्रकारितामा भविष्य देख्नुहुन्न । जिल्लाभित्र वा बाहिरका मिडियामा काम गरे पनि हात मुख जोड्न समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । छ वर्षदेखि अनवरत पत्रकारिता गर्दै आउनुभएका उहाँले सन्दकपुर दैनिकको व्यवस्थापक र डिजाइनर भएर चार वर्ष काम गर्नुभयो ।
लामो समय खट्दासमेत दुःख गरेअनुसार पैसा नभएपछि विकल्प खोज्नु पर्ने स्थिति आएको उहाँ बताउनुहुन्छ । “न स्थायी होइन्छ न त तलबीमै राखिन्छ”, उहाँ भन्नुहुन्छ, “साह्रै धेरै मिडियामा काम गर्दा पनि जीवन धान्न कठिन भएको छ ।”
रासस

