प्रहरीको गोली लागेर सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षिय जयशंकर साह रहेका छन । उनको प्रहरीले टाउकोमा गोली प्रहार गरेको कारण मृत्यु भएको बरहथवाका स्थानियले जानकारी दिएको छ ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको थियो ।
स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगरको निर्णय उल्टाउन खोजेको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेपछि झडप भएको थियो । अहिले भने बरहथवाको अवस्था तनावग्रस्त रहेको छ ।
झडपमा प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको हो । साहको मृत्यु भएपछि सर्लाहीजिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रवार साँझदेखी कफ्र्यू आदेश जारी गरेको छ ।
प्रर्दशनमा तनाव बढ्दै गएकोले शुक्रवार साँझ बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिएका छन ।
झडपमा मृत्यु भएका साह बंगलादेशमा एमबिबिएस पढदै गरेका विद्यार्र्थी हुन ।

