करण कुमार मिश्र/
रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगर महादेव मन्दिरमा श्रीपञ्चमीको अवसरमा जल चढाउने दर्शनार्थीको भीड लागेको थियो।
जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगर महादेव मन्दिरमा बुधवार जल चढाउनेहरुको भिड लागेको हो ।
शिवनगर महादेव मन्दिर रौतहट जिल्लाको प्रमुख धर्मिक स्थल मध्ये एक पर्दछ ।
श्रीपञ्चमीको अवसरमा बुधबार बिहान ४ बजेदेखि नै महादेव मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको शिव मन्दिरका प्रमुख महन्थ कृष्णदेव गिरीले जानकारी दिए ।
बुधवार विहानदेखी नै दर्शनका लागि लाखौँ भक्तजन मन्दिर परिसरमा लाममा बसेको थिए । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको मन्दिर संचालन समितिले जनाएको छ ।
बिगतका वर्षझै यस पटक पनि शिवनगर महादेव मन्दिर स्थानमा हजारौं कमरथुवाहरुले जल चढाएका छन् ।
त्यसैगरी यो शिवालयमा रौतहटका विभिन्न स्थानहरु सहित,सर्लाही बारा लगायतका जिल्ला तथा छिमेकी राष्ट्र भारतको सिमावर्ती क्षेत्र बाट लाखौंको संख्यामा दर्शनार्थी दर्शन गर्न आएको आयोजक मेला समितिले अनुमान गरेको छ।
मेलामा आउने दर्शनार्थीको लागि शुद्ध खानेपानी र प्याक पर्ने ठाउमा शौचालय,स्वास्थ्य शिविर हेल्प डेस्कको समेत प्रबन्ध मिलाएको वडाअध्यक्ष रामबिनोद साहले जानकारी दिएका हुन्।
मेला सुुरक्षाका लागि बाक्लो सुुरक्षाकर्मीको ब्यवस्था मिलाईएको जनाइएको छ । सुुरक्षार्थ जिल्ला भरिबाट दुईसय जना भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन ।
यसपटकको मेला अन्य वर्षभन्दा शान्तिपुर्ण रूपमा सम्पन भएको डिएस्पी खनालले जनाए ।


