रौतहटको जयनगरमा देशकै ठुलो फर्निचर मेला शुरु

साझेदारी दैनिक
404 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ ।

वसन्त पञ्चमीको अवसरमा जिल्लाको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै गरुडा नगरपालिका–१ जयनगरमा यो मेला लागेको छ ।

नेपाल बिश्वकर्मा बजार समितिले आयोजना गरेको देशकै ठुलो काठको फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला शुरु भएको हो ।

एक दशकभन्दा लामो समयदेखि वर्षेनि लाग्दै आएको फर्निचर मेलामा रौतहटका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला सर्लाही र बाराका मिस्त्री–ब्यवसायीले महिनौँदेखि घरमै निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याएका छन् ।

मेलामा साल, सिसम, टिक, मसला, आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध छन् ।

यो मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाण्डु, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको समितिले जनाएको छ ।

खास गरि मानिसहरु आ–आफ्नो छोरीको बिहेमा दिने दाइजो स्वरुप पलंग कुर्सी डाईनिग टेबल दिने चलन रहेकोले यो फर्निचर मेलामा सस्तो टिकाउ गुणस्तरका फर्निचरका समाग्रीहरु पाउने आशा बिश्वासको साथ रौतहटको जयनगर फर्निचर मेलामा आउने गरेको स्थानीय राम बिश्वास साहले बताएका हुन् ।

श्रीपञ्चमीसँगै करिब एक महिनासम्म लाग्ने यो मेलामा गत वर्ष कारोबार २ करोड भएको र यस वर्ष पनि व्यापार व्यावसाय करिब ३ करोड हुने लक्ष्य रहेको नेपाल बिश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले जानकारी दिएका छन ।

रौतहटको जयनगरमा २०६५ सालदेखि नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोवार पनि बढदै गएको समितिले जनाएको छ ।

Leave a review