बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको आरोपपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलीप क्षेत्री र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापाको जिम्मेवारी खोसिएको छ।
साउन ३१ गतेदेखि हराइरहेकी गरिमा भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकाको बलात्कारपछि हत्या भएको हो।
बालिका हराएपछि प्रभावकारी खोजतलास नगरेको आरोपमा स्थानीयवासी तथा पीडित परिवारले विरोध प्रदर्शन गर्दै आएका थिए। विरोध चर्किएपछि नेपाल प्रहरीले सिमरा प्रहरीको नेतृत्व परिवर्तन गरेको हो।
डीएसपी क्षेत्रीलाई सरुवा गरी उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ। इन्स्पेक्टर थापालाई भने प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।


