आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि फागुन मसान्तसम्म आठ महिनामा नौ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ ।
चालु आर्थिक बर्षको आँठ महिनामा १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।
आन्तरिक राजस्व कार्यालय सिमराले नौ अर्ब ४८ करोड ११ लाख ११ हजार रुपैयामात्र संकलन गर्न सकेको प्रमुख कर अधिकृत राजकुमार खतिवडाले साझेदारी दैनिकलाई जानकारी दिए ।
चालु आर्थिक बर्षको फागुन महिनासम्म तोकिएको लक्ष्य भन्दा २६.४५ प्रतिशतले यो कम हो । गत आर्थिक बर्ष २०७९।०८० को फागुन महिनासम्मको राजस्व सङ्कलनसँगको तुलनामा ६.३८ प्रतिशतले कमी आएकोे छ ।
आर्थिक बर्ष २०८०।०८१ मा आन्तरिक राजस्व कार्यालय सिमराले अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी बार्षिक २० अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
कार्यालयले चालु आर्थिक बर्षको साउन देखि फागुन महिना सम्म आय करतर्फ ४१ करोड ४३ लाख४० हजार लक्ष्य निर्धारण गरेको छ । जसमा रु ४२ करोड २७ लाख २५ हजार रुपैया सङ्कलन गर्न सफल भएको छ ।
मूल्य अभिबृद्धिकर तर्फ ५४ करोड ९२ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ५७ करोड ९७ लाख ५४ लाख रुपैया राजस्व सङ्कलन गर्न सफलता प्राप्त भएको छ । त्यस्तै अन्त शुल्क तर्फ ११ अर्ब ९६ करोड २६ लाख ९४ हजार रुपैया लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ४७ करोड ८६ लाख ३१ हजार रुपैया मात्र सङ्कलन भएकोे छ ।
आयकर र मूल्य अभिबृद्धि कर तर्फ लक्ष्य भन्दा बढि क्रमसः १०२ प्रतिशत र १०५.६ प्रतिशत प्रगति हासिल गर्न सकेको छ । अन्त शुल्कतर्फ लक्ष्यको ७०.८७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत खतिवडाले बताए ।
सो कार्यालय अन्तर्गत बारा र रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत खतिवडाले लामो समय देखि अटेरी गरी बक्यौता नबुझाउँने बिवरण दाखिला नगर्ने करदाताको नाम फागुन महिना भित्रै पत्रपत्रिकामा सुचना प्रकाशन गरी उनीहरुको बैँक खाता ,कारोबार ,आयात निर्यात रोक्का गरी कार्बाहीको कानुनी प्रक्रिया अगाडि बढाउँने जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय सिमराले सङ्कलन गर्ने कुल अन्त शुल्कको ८५ देखि ९० प्रतिशत हिस्सा चुरोट उत्पादन गर्ने कम्पनी सूर्य नेपालले बुझाउँने गर्दछ ।
उसले उत्पादन गरेको चुरोटको बजारमा आएको बिक्रिमा कमीले गर्दा पनि अन्त शुल्क कम सङ्कलन भएको प्रमुख अधिकृत खतिवडाले जानकारी दिए । बाँकी ४ महिनामा अर्थतन्त्रमा सुधारमा आई तोकिएको लक्ष्य हासिल गर्न सक्ने बिश्वास उनले ब्यक्त गरे ।

