बाराको बकुलियामा जारी पाँचौ बकुलिया भवानीपुर गोल्ड कपको उद्घाटन खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले बिजय सुरुवात गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित खेल मैदानमा जारी खेलमा पर्सागढी युवा स्पोर्ट क्लबले हेटौडा फूटबल एकेडेमीलाई १–० ले पराजित गरेको हो ।
पर्सागढीको लागि ८ नम्बर जर्सीका खेलाडी सजित उरोले १ गोल गरेका थिए । उरोले गरेका एक गोल नै पर्सागढी युवा स्पोर्टलाई जिताउँन निर्णायक बन्न पुग्यो ।
विजेता खेलाडीलाई मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले रु दुई हजार रुपैयाको चेक र शिल्ड प्रदान गरेका थिए ।
जनकल्याणकारी क्लबको आयोजनामा भईरहेको खेलमा आँठवटा फुटबल क्लबको सहभागिता रहेको छ । बिजेताले नगद रु २ लाख ,शिल्ड र मेडल र उप बिजेताले रु १ लाख ,शिल्ड र मेडल प्राप्त गर्ने वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए । चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर ,पर्सागढी युवा स्पोर्टस क्लब ,हेटौडा फुटबल एकेड्मी मकवानपुर ,निजगढ युवा क्लब निजगढ ,बिरगंज युनाईटेड बिरगंज ,एभरेष्ट फुटबल एकेड्मी सर्लाही ,हर्दि युवा समाज चितवन र सशस्त्र प्रहरी बल पिलुवा ,बाराको सहभागिता रहेको छ ।
आयोजक प्रतियोगिताको संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले स्वास्थ्य र राष्ट्रकोलागि खेलकुद अपरिहार्य भएको बताए । उनले बकुलियामा रहेको फूटबल मैदानलाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने समेत बताए ।
प्रतियोगितालाई सफल बनाउँन वडा न ५ को कार्यालयले रु ५ लाख रुपैया र जीतपुरसिमरा उपमहानगरको कार्यालयले रु ६ लाख सहयोग गर्ने आयोजक क्लबका अध्यक्ष श्रीराम चौधरीले जानकारीदिनुभयो ।
उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारि र जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष हरिदेव खरेलले शुभकामना मन्तव्य राखेका थिए । दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ् जनकल्याणकारी क्लबले प्रतियोगिताको आयोजना गरेको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ,वडा न २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ,वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी,वडा न १२ को वडाध्यक्ष श्यामबाबु खाँ,वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरी,वडा न ५ का वडासदस्य इन्दल पासवान,बिमला शर्मा,पुनम देवी नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेल,रबिन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो ।

