डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत हेकन्तप्रसाद साहलाई अदालतले दोषी ठहर गरेको छ ।
पर्सामा रहेका बेला साह माथि भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । अधिकृत साह सहित २४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
साह सहित २४ जनालाई विशेष अदालतका न्यायाधीश टेकनारायण कुवर,तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले बुधबार दोषी ठहर गरेको हो ।
ईजलाशले सजाय निर्धारणको लागि अर्को पेशी तोकेको छ । डिभिजन वन कार्यालय पर्साको प्रमुख रहेको बेला अख्तियारले साहसहित २४ जनाविरुद्ध ४ चैत ०८० मा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।
डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीमा रहेका बेला तत्कालीन वन अधिकृत साहले रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रूखमा छापा, टाँचा गराई,कटान गर्न इजाजत दिई,वन क्षेत्रको रूख व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रूख कटान गरी भ्रष्टाचार गरेको पुष्टि भएको हो ।
उनी सहित अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर,महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर सब–डिभिजन वन कार्यालय बर्दिवास,महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव,फरेष्टर सन्तोष कुमार साह,वनरक्षक राजकिशोर झा,अजयकुमार यादव,राकेशकुमार यादव,नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा गराएको थियो ।
साह सहित २४ जना बिरुद्ध नै अख्तियारले जनही ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गराएको थियो ।

