सम्झौता अनुसार भारतले नेपाललाई दिएन पानी

रञ्जन यादव
404 पाठक संख्या

नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले नेपाललाई पानी दिएको छैन् ।

८ सय ५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष भारतीय पक्षले नेपाललाई ६ सय ५० क्युसेक मात्र पानी दिएको छ । समयमै पर्याप्त वर्षा भएको र असार १३ गतेदेखि नै भारतीय पक्षले नहरमा पानी छोड्दा यस वर्ष साउन दोस्रो साता नलाग्दै बारा,पर्सा र रौतहटका अधिकांश किसानले धान रोपाइँ सम्पन्न गरिसकेका छन् ।

गत वर्ष यही अवधिमा चर्को खडेरी र भारतीय पक्षले सम्झौता अनुसार पानी नदिँदा ५० प्रतिशत मात्रै रोपाइँ भएको नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर उकास्ने उद्देश्यले नेपालको नारायणी र त्रिवेणी नदीको पानीलाई ब्यारेज निर्माण गरेर नहर प्रणाली मार्फत नेपाल र भारतबिच पानीको बाँडफाँड हुँदै आएको छ ।

भारतले विहार राज्यको वाल्मिकीनगरमा २ हजार ५ सय क्युसेक क्षमताको ब्यारेज निर्माण गरेको छ । जसबाट नेपाललाई ८५० क्युसेक पानी दिनुपर्ने सम्झौतामा उल्लेख छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश प्रसाद साहले यस वर्ष समयमै वर्षा भएकाले भारतीय पक्षले सम्झौता अनुसार पानी नदिए पनि किसानहरूलाई रोपाइँमा कुनै समस्या नभएको बताए ।

Leave a review