जीतपुरमा दुई सय एकसठ्ठी किलोको विशाल लड्डुसहित गणेश पूजाको तयारी

रञ्जन यादव
273 पाठक संख्या

बाराको जीतपुरमा दुई सय ६१ किलोको एउटा बिशाल लड्डु सहित श्रीगणेश चतुर्थी पूजा गर्ने तयारी भएको छ ।

श्री सिद्धी विनायक पूजा समिति जीतपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

आउँदो शनिबार देखि सप्ताह ब्यापी हुने पूजाको बारेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ गौशालाको फिल्डमा सो पूजा हुनेछ ।पूजाको पहिलो दिन शनिबार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने आयोजक मूल समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिए ।महोत्सवमा रोटे पिंङ्ग,सर्कश लगायत मनोरञ्जनका साधनहरुको समेत व्यवस्था गरिएको छ ।

गत वर्षको महोत्सवमा बनाईंदै आएको दुई सय ५१ किलोको एउटै लड्डुको आकारलाई बृद्धि गर्दै यस वर्षको पूजामा दुई सय ६१ किलोको लड्डु बनाईने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।पूजामा आरती पश्चात प्रत्येक दिन ५० किलो लड्डु दर्शनार्थीहरूलाई वितरण गरिने श्रीगणेश चतुर्थी पूजा समितिका अध्यक्ष कानुले बताए ।

पूजामा हरेक दिन भजन किर्तन हुने छ । पूजा अवधिभर करिब सात लाख ३७ हजार सम्म खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष मनोहर सोनीले बताए ।

जीतपुरमा १५ वर्ष देखि गणेश चतुर्थिको दिन पारेर गणेश भगवानको पूजा हुँदै आएको छ । प्रत्येक बर्ष झैँ यस बर्ष पनि गणेश भगवानको शोभा यात्रामा हात्ती र घोडाले नगर परिक्रमा गर्ने जनाईएको छ ।

शोभा यात्रामा एउटा हात्ती र ५ वटा घोडा शोभा यात्रामा आउँने आयोजक समितिका सह सचिव जयसागरले पत्रकार सम्मेलनमा जानकारी दिए ।गणेश चतुर्थी पूजाको उद्घाटन मधेश प्रदेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले गर्ने कार्यक्रम रहेको छ ।

Leave a review

This will close in 0 seconds