वीरगञ्ज : आर्थिक वर्ष शुरु भएको साढे दुई महिना भन्दा बढी बितिसक्दा पनि पर्साको बहुदरमाई नगरपालिकाले विवादको कारण अझै बजेट ल्याउन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर÷गाउँसभाले १० असारमै स्थानीय पालिकाले बजेट ल्याई सक्नुपर्ने ब्यवस्था गरेको छ। असार मसान्त भित्र बजेटलाई सभाबाट पारित गर्नुपर्ने ब्यवस्था ऐनमा रहेको छ ।
स्थानीय पालिकाहरुमा जनप्रतिनिधि बीचको विवादका कारण पर्साको बहुदरमाई नगरपालिकाले अझै बजेट ल्याउन नसकेको हो । आर्थिक वर्ष शुरु भएको लामो समय बित्दा समेत नगरपालिकाका मेयर सिँगासन साह तेली र वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुबीच भागबण्डा नमिल्दा अहिलेसम्म बजेट आउन सकेको छैन ।
चालु आर्थिक बर्षको बजेट ल्याउनमा ढिलाई गरेपछि बहुदरमाई नगरपालिकामा हुने विकास निर्माणका कामहरु ठप्प भएको छ। त्यहाँ कार्यरत रहेका कर्मचारीहरुले तलब भत्ता समेत पाउन सकेका छैनन्। बजेट ल्याएर नगर सभाबाट पास गरेपछि मात्रै खर्च गर्नुपर्ने हुन्छ।
बजेट नआउदा विकास निर्माणसंगै अन्य भुक्तानीका कामहरु पनि रोकिएको छ ।नगरपालिकाका कर्मचारीहरुले तलब नपाएको तथा हाल नगरपालिकामा भुक्तानी खर्च लगायतका कामहरु रोकिएको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए।
उनले आफुहरुले बजेटको सम्पूर्ण तयारी गरिसकेको भएपनि जनप्रतिनिधिहरुका कारणले बजेट समयमा ल्याउन नसकिएको बताए ।
‘हामीहरु सबै तयारी गरिसकेका छौ तर जनप्रतिनिधिबीच नै कुरा मिलेको छैन,त्यही भएर बजेट अहिलेसम्म ल्याउन सकिएको छैन,उनले भने ।नगरपालिकाले नगर सभा समयमा नगरेका कारण वडामा हुने विकासका काम पनि प्रभावित भएको वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
उनले नगरपालिकाका मेयर साहको मनोमानीका कारणले बजेट ल्याउनमा ढिलाई भइरहेको दाबी गरे । मेयर साहको एकलौटी ढँगले काम गर्ने प्रवृतिले गर्दा अहिलेसम्म बजेट नआएको यादवको दावी रहेको छ। आफु बिरामी रहेको तथा केही दिनमै बजेट नगर सभाबाट ल्याउने नगरपालिकाका मेयर साहले जानकारी दिए ।
उनले बजेट ल्याउनमा धेरै ढिलाई भएको उनले स्वीकार गरे। अबको केही दिनमै बजेट ल्याईने उनले बताए ।‘म बिरामी छु अहिले बजेट चाँडे ल्याउछौ केही दिनमै,उनले भने ।’नगरपालिकाका जनप्रतिनिधि बीच खासै ठुलो किसिमको विवाद नरहेको मेयर साहको दाबी छ ।

