कलैया : केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद र बाल हेल्पलाइन १०९८ बाराको सहकार्यमा ११ जना बालकलाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ।
बालश्रम गर्न भारत पुगेका ११ जना बालकलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाइएको हो। उद्दार गरी ल्याइएका बालकहरुलाई जिल्ला प्रहरी कार्यालय,बारामा एक कार्यक्रम गरी अभिभावकको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि,संरक्षण नेपाल,बाल हेल्पलाइन १०९८ बाराको प्रतिनिधि लगायतका सरोकारवालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको हो ।
उद्दार गरिएका बालकमा रौतहटका नौ जना रहेका छन्। दुई जना डोटीका जिल्लाका रहेका छन् । उद्धार गरि ल्याइएका बालकहरु १२ देखि १७ सम्म बर्ष उमेर समूहका रहेका छन ।
उद्धार गरिएका ती बालकहरू ८ देखि ३ महिना पहिले विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रबाट उद्धार गरिएको हो।
व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीले उद्दार गरेको थियो । संरक्षण नेपाल बाराका प्रतिनिधि बृजमोहन कुशवाहा तथा पन्नालाल दास बालकलाई नेपाल ल्याउन भारतको मुम्बई पुगेका थिए।
बाल कल्याण समिति मुम्बई र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका हुन् ।
उक्त बालकहरुलाई केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद,बाल हेल्पलाइन १०९८ बाराको सहकार्य,संरक्षण नेपाल बारा,संस्थाहरुको समन्वयमा उद्धार गरिएको जनाइएको हो।
नेपालबाट भारत गएका ति बालकहरु ८ महिनाअघि सम्पर्कविहीन भएका थिए। छोरा भेटिएपछि एक बालकका अभिभावकले खुसीहुँदै छोरालाई स्कुल पढाउने प्रतिबद्धता व्यक्त गरिन्। राम्रोसँग हेरविचार गर्ने उनले जनाइन्।


