कलैया : बाराको एक पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भष्ट्राचार मुद्दामा सफाई पाएको ६ महिना नबित्दै फेरी अख्तियारको फन्दामा परेका छन् ।
जिल्लाको सिम्रौनगढ नगरपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साह बिहिवार घुस रकमसहित रङ्गेहात पक्राउ गरेका हुन् ।
उनलाई अख्तियारको हेटौडा स्थित कार्यालयको टोलीले बिहीवार दिउसो सेवाग्रहीसंग नगद ७८ हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
अधिकृत साहले एकजना सेवाग्रहीसंग बिल भुक्तानी गरेवापत घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले साहलाई जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै क्वाटरबाट कार्यालय जाने बाटोमा घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी पक्राउ परेका अधिकृत साहसहित यसअघि पनि भ्रष्टचार गरेको आरोपमा अनुसन्धानबाट सफाई पाएका व्यक्ति हुन । सिम्रौनगढ नगरपालिकमा नै उनी सहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा २०८० सालमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले उनी लगायत ७ जनालाई सो मुद्दामासफाई दिएको थियो । उनीहरुलाई नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदन उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।
सडक ढलान निर्माण कार्यमा काम भन्दा वढी रकम भुक्तानी गरेको र नापी कितावमा चढाई,झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बढी मूल्याङ्कन गरी भुक्तानी दिएको आरोप अख्तियार लगाएको थियो ।

