सिमरा : कर सप्ताहको अवसरमा बाराका व्यवसायीहरुले एक द्वार कर प्रणालीको माग शनिबार गरिएको छ।
एक कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनशर्मा लामिछानेले करमा एकद्वार कर प्रणाली लागु गर्न सरकारसंग माग गरेका हुन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले आयोजना गरेको कर सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले यस्तो माग गरेका हुन्।
उनले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको बताए। तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको उनको कथन थियो।
संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको उनले बताए।
आन्तरिक राजश्वकार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएको जनाए। उनले व्यवसायीलाई करको दायरामा आइ सहयोग गर्न आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्ने जनाए।
सो कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेल,निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भुकुमार खड्गी लगायत यहाँका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । उद्घाटन अघि सिमरामा प्रभात फेरीको आयोजना गरिएको थियो ।

