कलैया । बारामा घर लिप्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल बस्ने दशरथ महतोकी ७० वर्षीय श्रीमती शारदा देवी महतो रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। त्यसैगरी सिम्रौनगढ नगरपालिका–५ सानो इटवाल बस्ने राजेश्वर महतोका १५ वर्षीय छोरा सुनिल महतो (निरहुवा) लाई कलैया मेट्रो अस्पताल पठाइएको थियो । डाक्टरले चेकजाँच गर्ने क्रममा उनको मृत घोषणा गरेका छन्।
बारा प्रहरीका अनुसार घाइते हुनेमा निम्न व्यक्तिहरु रहेका छन्:
१.सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल बस्ने बिश्वनाथ महतोका अन्दाजी १४ वर्षीय छोरा साजन महतो – हातखुट्टा चोट, अवस्था सामान्य, सिम्रौनगढ कंकाली अस्पतालमा उपचार।
२.सिम्रौनगढ नगरपालिका–५ सानो इटवाल बस्ने राज किशोर महतोका १५ वर्षीय छोरा नितेश महतो – हात, खुट्टा र टाउकोमा चोट, अवस्था सामान्य, सिम्रौनगढ कंकाली अस्पतालमा उपचार।
३.सिम्रौनगढ नगरपालिका–६ अमरपुर बस्ने सन्तोष मुखीयाका अन्दाजी १८ वर्षीय छोरा गौतम मुखिया – हातखुट्टा चोट, अवस्था सामान्य, प्रादेशिक अस्पताल कलैयामा उपचार।
४.सिम्रौनगढ नगरपालिका–५ सानो इटवाल बस्ने बृजकिशोर महतोकी अन्दाजी १४ वर्षीया छोरी रानी कुमारी महतो – बायाँ हात भाचेको, अवस्था मध्यम, प्रादेशिक अस्पताल कलैयामा उपचार।
५.सिम्रौनगढ नगरपालिका–५ सानो इटवाल बस्ने लक्ष्मी महतोकी अन्दाजी १४ वर्षीया छोरी सुशिला कुमारी महतो – हातखुट्टा चोट, अवस्था सामान्य, धर्मनगर अस्पताल सिम्रौनगढमा उपचार।
६.सिम्रौनगढ नगरपालिका–५ सानो इटवाल बस्ने प्रभु शर्माका अन्दाजी १५ वर्षीय छोरा राजा बाबु शर्मा – ढाड र कम्मरमा चोट, धर्मनगर अस्पताल सिम्रौनगढमा उपचार।
घाइते सबैको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था बुझ्न बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल,सिम्रौनगढ नगरपालिका का नगर प्रमुख किशोरी प्रसाद जयसवाल अस्पतालमा पुगेका छन ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढमा खबर प्राप्त भएलगत्तै प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ जनाको टोली र सशस्त्र प्रहरी बल सिम्रौनगढबाट ७ जनाको टोली घटनास्थलमा खटिएको थियो।

