श्री पञ्चमी पर्वमा हजारौ किसानले गरे हलो र गोरुको पूजा

साझेदारी दैनिक
287 पाठक संख्या

राजेश कुशवाहा : श्री पञ्चमी पर्वको अवसरमा बाराका हजारौ किसानहरुले सोमबार हलो र गोरुको पूजा गरेका छन्।

जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका,महागढीमाई नगरपालिका,पचरौता नगरपालिका,सिम्रौनगढ नगरपालिका,कोल्हवी नगरपालिका,निजगढ नगरपालिका, परवानीपुर गाउँपालिका,प्रसौनी गाउँपालिका,फेटा गाउँपालिका,बिश्रामपुर गाउँपालिका,सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका,आदर्शकोतवाल गाउँपालिका,बारागढी गाउँपालिका,करैयामाई गाउँपालिकाका किसानले हलो गोरुको पूजा गरेका हुन ।

परम्परागत रुपमा किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात मान्दै एका बिहानै किसानले हलो गोरुको पूजा गरेका हुन्। किसानले आ आफनो आंगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला,अक्षता,अबिर,चामल,लडु लगायतका बस्तु सहित आंगनमा हलो राखेर पूजा गरेका छन्।

घर बाहिर गोरुलाई नुहाई नयाँ रंगीचंगी डोरी लगाएर तिनको पूजा गरेका हुन्। किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एक छिन जोत्ने चलन अनुसार खेतबारी पनि जोतेका छन।

आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाछो बाट गोरुका रुपमा तयार भईसकेका लाई समेत आजका दिन बाटै गोरु बनाउने चलन रहेको छ।

किसानले आजका दिन हलोमा धार लगाउने,कोदालो धारिलो पार्ने तथा हंसिया र खुर्पा सहितको कृषि औजारलाई नयाँ धार लगाएर एक छिन प्रयोगमा ल्याउने गर्छन। आजैका दिन बाट आ आफना बाँझो खेतीबारी समेत जोत्ने कामको शुभारम्भ गर्छन ।

Leave a review