कलैया : जिल्ला प्रहरी कार्यालय बारामा नेतृत्व गर्न भर्खरै सरुवा भएर आएको बारा प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले नागरिकको शान्ति सुरक्षाको सवालमा आफुले कोही कसैसंग कुनै सम्झौता नगर्ने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यभार सम्हाले पश्चात पहिलो पटक मंगलबार कार्यकक्षमा पत्रकार भेटघाट तथा परिचयात्म कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक तमाङ्गले यस्तो बताएका हुन । उनले आम नागरिकको न्यायलाई मुख्यकेन्द्र बिन्दुमा राखेर काम गर्ने बताएका छन ।
निर्दोष नपरोस् दोषी नछुटोस् भन्ने न्यायको सिद्धान्तलाई सधै सिरोधार्य गरी आफु काम गर्न प्रतिबद्ध रहेको प्रहरी उपरिक्षक तमाङ्गले बताए । उनले नागरिकलाई न्याय दिन सवालमा कुनै जात,धर्म,दल र रंङ्गका आधारमा विभेद गर्ने काम आफुबाट २१ बर्षे प्रहरीको सेवा कार्यकालमा नभएको र आगामी दिनहरुमा पनि नहुने विश्वास दिलाएका छन ।
प्रहरी उपरिक्षक तमाङ्गले जिल्लामा चोरी तस्करीमा शुन्य सहनशिलता अपनाईने काम गर्ने उनले बताए । कानुनले बन्देज गरेको कुनैपनि काम प्रहरीले नगर्ने उनको भनाई छ । सिमा नाकामा सुरक्षा जांचमा कडाई गरिने समेत जानकारी दिए ।
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै प्रहरी परिक्षक तमाङ्गले कसैको दवाव र प्रभावमा नपरी स्वच्छ र निस्पक्ष रुपमा कानुनले दिएको अधिकारलाई प्रयोग गर्ने बताएका छन ।
उनले पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा जिल्लाको विभिन्न स्थानमा लगाईएका अवैध गाँजा खेतीको फडानी,गर्मी महिनामा हुने बन जंगल डढेलो नियन्त्रण गर्न अभियान नै संचालन गर्ने जानकारी गराएका छन ।
उक्त अवसरमा बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । तमाङ्ग अघि बाराका प्रहरी प्रमुख महेन्द्र खड्का थिए । खड्का एसएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालय सरुवा भएपछि उनको स्थानमा प्रहरी उपरिक्षक तमाङ्ग बारा आएका हुन ।

