नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ निवासी महम्मद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ समेतको नागरिकता सम्बन्धी मुद्दामा बयानका लागि झिकाउन उच्च अदालतले आदेश दिएको छ ।
उनी बिरुद्धको पुनरावेदन मुद्दाको सुनुवाई गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बयानका लागि झिकाउने आदेश बुधबार दिएको हो ।
अदालतका सूचना अधिकारी दिपेन्द्रकुृमार तिवारीका अनुसार उच्च अदालतका न्यायाधीश दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले साहाबुद्दिन सहित पाँच जनालाई बयानको लागि झिकाउने आदेश दिएको हो ।
आदेश अनुसार प्रतिबादी रहेका महमद साहाबुद्दिन सहितले अदालतमा उपस्थित भएर बयान लेखाउनुपर्ने तिवारीले बताए । ‘अब प्रतिबादीहरुले अदालतमा उपस्थित भएर बयान लेखाउनु हुन्छ,अहिले बादीको तर्फको मात्रै कुरा सुनिएको हो उनले भने ।
अब प्रतिबादीको पनि सुन्नको लागि प्रतिबादीलाई उपस्थित हुन आदेश भएको हो ,उनले भने ।’साहाबुद्दिन सहित पाँच जना बिरुद्धको नागरिकता सम्बन्धी मुद्दा ०७६ साल साउन २० गते जिल्ला अदालत पर्सामा दायर भएको थियो ।
गत पुस २४ गते अदालतकी न्यायाधिश मोना सिँहको ईजलाशले अभियोग दाबी नपुग्ने भन्दै अन्तिम आदेश दिएको थियो ।त्यसपछि उक्त मुद्दा पुनरावेदनको लागि उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा गत फागुन १६ गते दर्ता भएको थियो ।
साहाबुद्दिन सहित मंसुर शेष भन्ने मंसुर खाँ, हमिदा बेगम, महम्मद मुर्तुजा भन्ने गुड्डु खाँ र नजमा बेगम गरी पाँच जना बिरुद्ध नागरिकता मुद्दा दायर भएको थियो ।


