वीरगञ्ज महानगरपालिकाद्वारा पर्यटकीय प्रवर्द्धन विषयमा छलफल

साझेदारी दैनिक
457 पाठक संख्या

वीरगञ्ज :वीरगञ्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीसँग व्यवसाय दर्ता,कर प्रणाली र भवन नक्सा पास तथा यहाँको पर्यटकीय गतिविधि प्रवर्द्धन लगायतका विषयमा छलफल गरेको छ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार होटल तथा पर्यटन व्यवसायीसँग छलफल गरेको हो।

मेयर सिंहले महानगरपालिका भित्र संचालनमा रहेका होटल अनिवार्य रुपमा व्यवसाय दर्ता गराएर मात्रै संचालनमा ल्याउन व्यवसायीहरुलाई महानगरपालिकाका सिंहले आग्रह गरे। घर बहाल र सम्पत्ति कर समेत समयमै तिरेर महानगरलाई समृद्ध बनाउन व्यवसायीको सहयोगको आवश्यकता रहेको उनले बताए।

महानगर व्यवसायमैत्री वातावरण बनाउन उद्दत रहेको उनले जनाए। यस्को लागि करको दायरा बढाउने र दरमा हेरफेर गर्न तयार रहेको उल्लेख गरे।महानगरले करको दायरा बढाउने नीति लिएको उनले जनाए। करको दर यथोचित बनाउने जनाउदै व्यवसायीलाई सहजता दिने नीति लिएको जनाए।

विभिन्न स्थानहरूमा पार्क निर्माण गर्नुका साथै शहरी सौन्दर्यकरणको काम गरिरहेको उनले जनाए। पर्यटकका लागि शहरलाई घुम्न योग्य र आकर्षक बनाउने अपेक्षा गरिएको पनि उनले जनाए। मेयर सिंहले अगामी नीति तथा कार्यक्रममा निजी क्षेत्र,विशेषतः होटल व्यवसायीहरूको सुझाव प्राथमिकताका साथ समेटिने पनि उनले स्पष्ट गरे।

व्यवसाय दर्ता,कर प्रणाली र सेवाहरू डिजिटल बनाउन ‘एकद्वार सेवा प्रणाली’को तयारी भइरहेको जानकारी दिदै होटल क्षेत्र महानगरको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको जनाए। उनले व्यवसायीहरूलाई सघाउन महानगर जहिल्यै तयार रहेको उनले बताए।

आगामी नीति तथा कार्यक्रममा व्यवसायीहरूको सुझाव समावेश गरिने उनले प्रतिबद्धता व्यक्त गरे। व्यवसाय मैत्री सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गरे।

यस्तै छलफलमा सहभागि होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरु व्यवसाय दर्ता गरेर कानुनी रुपमा व्यवसाय संचालन गर्न तयार रहेको उनले जनाए। त्यस्का लागि आवश्यक सहयोग गरिदिन उनले आग्रह गरे।

व्यवसायीहरू कानुनी रूपमा दर्ता भएर व्यवसाय सञ्चालन गर्न पूर्णतः तयार रहेको बताउदै पन्तले दर्ता प्रक्रिया सरल र छिटो बनाइदिन आग्रह गरे। जटिल प्रक्रिया सुधारिए व्यवसाय दर्तामा कुनै समस्या हुँदैन उनले भने। महानगरको तर्फबाट हुने सकारात्मक पहल र सहजीकरणले व्यवसायीहरूलाई आत्मविश्वास दिएको उनले जनाए।

पर्यटन प्रवद्र्धनमा संस्कृतिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै कल्चरल कार्यक्रम सञ्चालनको आवश्यकता रहेको उनले औंल्याए। वीरगञ्जलाई पर्यटकीय गतिविधिमा चलायमान बनाउन सके होटल व्यवसायमा प्रत्यक्ष फाइदा पुग्ने उनले जनाए।

कल्चरल कार्यक्रम,मेला महोत्सव र गन्तव्य प्रवद्र्धनका क्रियाकलाप ल्याउन सके शहरको आर्थिक र सामाजिक गतिशीलता बढ्ने उनले जनाए। होटल व्यवसायी माधव वस्नेतले व्यवसायीहरूले व्यवसाय दर्ता गर्नुपूर्व धेरै चरण पार गर्नुपर्ने उनले जनाए।

कर प्रणाली बुझ्न कठिन हुने र नक्सापास प्रक्रियामा झन्झट हुने जस्ता व्यवहारिक समस्या रहेको उनले जनाए। वीरगञ्ज जस्तो व्यापारिक सहरमा व्यवस्थित होटल सेवा महानगरकै पहिचान बन्नुपर्नेमा छलफलका सहभागीहरूको जोड थियो ।

छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार,राजश्व शाखाका नवराज थापा,नक्सा शाखा प्रमुख गौरव झा तथा वीरगञ्जमा संचालित होटलका संचालकहरुको सहभागिता रहेको थियो।

Leave a review