रौतहट । रौतहटको माधवनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ३५ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ।
माधवनारायण नगरपालिकाले आज आफ्ना १० औं नगरसभा द्वारा नगरको समग्र विकासका लागि ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आज नगरसभाको १० औं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
नगरसभामा माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।
आगामी आर्थिक वर्षमा नगरको समग्र विकासका लागि अनुमानित ५३ करोड भन्दा बढी आय व्यय सहितको बजेट प्रस्तुत गरेको नगर प्रमुख यादवले बताए।
राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान,ससर्त अनुदान चालू/पुँजीगत,विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण,ससर्त अनुदान,विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए।
नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै माधव नारायणको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताइएको छ।
सम्पन्न नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव,सबै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,सबै नगरसभा सदस्यहरू,कर्मचारी,पत्रकार,प्रहरी लगायतको सहभागिता रहेको थियो।


