कलैया : वीरगंजमा हैजाका बिरामी फेला परेपछि बारामा सतर्कता अपनाइने भएको छ। बारा जिल्लामा समेत यसको संक्रमण फैलिने सम्भावना रहेको भन्दै यहाँ स्वास्थ्य क्षेत्रमा गतिविधि बढेको हो। प्रादेशिक अस्पताल कलैयामा शनिबार आकस्मिक बैठक बसेको छ।
अस्पतालका प्रमुख मेसु डा. अजयकुमार गुप्ता, सम्पूर्ण विभागीय इन्चार्जहरूका तथा जिल्ला जनस्वास्थ्य कार्यालय, बाराका प्रमुख रामनरेश यादव सहितको उपस्थितिमा बैठक बसेको हो।
प्रारम्भिक तयारीलाई तत्काल प्रभावकारी बनाउन आवश्यक रणनीति र कदमबारे सो बैठकमा छलफल भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले हैजाको सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेतना अपनाउन भनेको छ। उसले खानेपानी उमालेर पिउन, व्यक्तिगत स्वच्छता कायम गर्न आग्रह गरेको छ।
वीरगंज महानगरपालिकाको विभिन्न वडामा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालमा १३ जनामा यस्को पुष्टि भएको हो।
तराई हस्पिटलमा १२ जनामा यस्को पुष्टि भएको हो। नेशनल मेडिकल कलेजमा ५ जना ,अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
बारामा हैजालाई रोकथाम गर्ने उद्देश्यले प्राथमिक तयारी सुरु गरिएको हो। हैजाको कारण वीरगञ्जमा आइतबार एक जना तथा शुक्रबार एक जना गरी दुई जनाको मृत्यु भइसकेको जनाइएको छ।

