कलैया । पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साजा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी र भारतीय समकक्षी एसएसबी पंटोकाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती सञ्चालन गर्ने क्रममा उक्त पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं ५ कुम्हालटोल बस्ने १८ वर्षिय सुमित कुमार मण्डल र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने २८ वर्षिय संजय कुमार साह कलवार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरूलाई वीरगन्ज महानगरपालिका वडा नं १६ इनर्वा र भारतको नुनियाडी पंचायत वडा नं १ अहिर्वा नजिक सानो सीमा स्तम्भ नं. ३९०/२२ को नजिक नेपालतर्फ झाडीभित्र लुकिरहेको अवस्थामा संयुक्त टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेको स्थानबाटै बोरा भित्र रहेको कटुवा पेस्तोल एक थान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार उक्त पेस्तोलसहित दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
पक्राउ परेका कलवार लागुऔषध नशामा लठ्ठ रहेकाले उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
उता पत्रकार सम्मेलनमा भने कुम्हाल टोलका सुमित कुमार मण्डलले भने बरामद भएको पेस्तोल आफुहरुको नरहेको संचारकर्मीहरुलाई बताएका छन्।


