रौतहट : रौतहट क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य जैद आलम र राजपुर नगरपालिकाका मेयर राजिक आलमबीचको राजनीतिक तिक्तताले विकास योजनामा प्रत्यक्ष असर परेको छ ।
हालै मधेस प्रदेश सरकारबाट स्वीकृत भएको करिब १८ करोड रुपैयाँ लागतको दमार चोकदेखि लतमरी बोर्डरसम्मको पाँच किलोमिटर लामो कालोपत्र सडक निर्माण कार्य राजनीतिक विवादका कारण अवरुद्ध भएको हो ।
प्रदेश सभा सदस्य जैद आलमको पहलमा प्रदेश सरकारमार्फत स्वीकृत सो योजना राजपुर नगरपालिकाको दमार चोक हुँदै भारतसँग जोडिने लतमरी बोर्डरसम्म पुग्ने गरी तयार गरिएको थियो । यो सडक निर्माण सम्पन्न भएमा स्थानीय बासिन्दाहरूलाई वर्षौंदेखि रहेको हिलो, धुलो र आवतजावतको कठिनाइबाट राहत पुग्ने अपेक्षा गरिएको थियो ।
तर, राजपुर नगरपालिकाका मेयर राजिक आलमले सो सडक निर्माणमा हस्तक्षेप गर्दै बलपूर्वक काम अवरुद्ध गराइरहेको स्थानीयले आरोप लगाएका छन् । मेयरले सोही सडक खण्डमा नेपाल सरकार र राजपुर नगरपालिकाको बहुवर्षीय योजना अन्तर्गत पहिले नै कार्य सञ्चालन भइरहेको भन्दै ठेकेदारलाई काम अगाडि बढाउन नदिएका हुन् ।
स्थानियवासीहरूको भनाइ अनुसार मेयरले देखाएको बहाना वास्तविक नभई राजनीतिक प्रतिशोधका कारण विकासमा अवरोध गरिएको हो । दमार चोकदेखि लतमरी बोर्डरसम्मको सडक केवल राजपुर नगरपालिकाको मात्र नभई पूरा क्षेत्रका जनताको साझा बाटो भएकाले यसमा रोक लगाउनु जनताको अधिकारमाथिको अतिक्रमण भएको उनीहरूको दाबी छ ।
स्थानीय भन्छन्, “यो बाटो परोहा, राजपुर, र इशनाथ नगरपालिकाका सबै बासिन्दाको जीवनसँग जोडिएको छ । दैनिक आवतजावत, विद्यालय, अस्पताल, बजार जाने सबै यही बाटो प्रयोग गर्छन् । यस्तो योजनामा अवरोध गर्नु जनताको दु:खमा राजनीति गर्नु जस्तै हो।”
प्रदेश सभा सदस्य जैद आलमले भने नगरपालिकाको दाबीलाई अस्वीकार गर्दै, नगरपालिकाले बनाएको ८ सय मिटर कालोपत्र सडक गुणस्तरहीन र मापदण्ड विपरीत बनेको बताएका छन् । उनले भने, “नगरपालिकाले अल्पकालीन सोचका आधारमा काम गरेको थियो । मेरो योजनामा नाला, निकास प्रणाली र दिगो संरचना सहितको आधुनिक सडक बन्नेछ । त्यसैले अवरोध हटाएर छिटो काम सुरु गराउन पुर्वाधार विकास कार्यालय गौर र संबंधित निकाय सँग आग्रह गरिएको छ।”
उक्त सडक निर्माण कार्यमा अवरोधका कारण अहिले स्थानीय बासिन्दा, व्यवसायी र विद्यार्थीहरूलाई आवतजावतमा असुविधा भएको छ । मधेस प्रदेसको गौरवको योजना अन्तर्गत रहेको सो सडक निर्माणमा रोक लगाइँदा स्थानीय स्तरमा नगरप्रमुख राजिक आलमको चर्को विरोध हुन थालेको छ ।
पुर्वाधार विकासको दृष्टिकोणले अत्यन्तै पछाडि रहेको राजपुर क्षेत्रमा १८ करोड रुपैयाँको यस्तो ठूलो योजना आउनु आफैंमा स्थानियका लागि गौरवको विषय भएको बताउँदै, स्थानीय समाजसेवीहरूले पनि राजनीतिक स्वार्थभन्दा माथि उठी जनहितका परियोजनालाई प्राथमिकता दिन नगर प्रमुखलाई आग्रह गरेका छन् ।
पुर्वाधार विकास कार्यालयका प्रमुख दिपक मिश्रले विवादमा अवरोध हटाउने प्रयास भइ रहेकोले छिटै निकास निकालेर योजना अगाडि बढाइने बताएका छन । राजपुर नगरपालिकाका मेयरले सिर्जना गरेको यो अवरोधले स्थानीय तहका शक्तिले विकास योजनालाई कसरी बन्धक बनाउँछ भन्ने उदाहरण देखाएको छ ।
यस विषयमा राजपुर नगरपालिकाका मेयर आलमलाई सम्पर्क गर्दा सम्पर्क हुनसकेको छैन ।

