पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सरोकारवालाबीच संरक्षणसम्बन्धी अन्तरक्रिया

रञ्जन यादव
267 पाठक संख्या

जीतपुर : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सरोकारवालाबीच संरक्षणका मुद्दामा केन्द्रित महत्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालको अध्यक्षता र प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा जनहित मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो।

निकुञ्ज कार्यालय आधाभार र मध्यवर्ती व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, सहकारी संस्था, चोर–शिकार नियन्त्रण युवा जागरण समूह तथा बाघमित्र अभियानका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

२०६२ सालमा मध्यवर्ती क्षेत्र स्थापना भएदेखि पहिलो पटक यसरी व्यापक सरोकारवालालाई एउटै मंचमा ल्याएर संरक्षणको अवस्था, समस्या, चुनौती र आगामी रणनीतिमाथि खुलेर छलफल गरिएको आयोजकले जनाएका छन्।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सहभागीहरुलाई चार समूहमा विभाजन गरी मध्यवर्ती क्षेत्रको संरक्षण अवस्थामाथि विशेस छलफल गरिएको उल्लेख गर्दै यसले संरक्षण अभियानलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झाले मानव–वन्यजन्तु द्वन्द बढ्दै गएको बताउँदै वन्यजन्तुको संख्या वृद्धि भए पनि वन क्षेत्र विस्तार नहुँदा समस्या चर्को बनेको धारणा राखे। उँहाले वन्यजन्तुलाई बस्तीमा पस्न नदिइ वनभित्रै राख्ने प्रभावकारी उपाय खोज्नुपर्नेमा जोड दिए। प्रमुख अतिथि खतिवडाले मध्यवर्ती क्षेत्रलाई अवसरको रूपमा उपयोग गर्न नसक्दा पछिल्लो समय उपभोक्तामाथि मध्यवर्ती परित्याग गर्ने प्रवृत्ति बढेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

अध्यक्ष अर्यालले स्थानीय समुदायले वन्यजन्तु र निकुञ्जलाई आफ्नो आयआर्जनसँग जोड्न नसक्दा संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए। निजी क्षेत्रसँग सहकार्य बढाउन कानुनी झन्झट हटाइ सहज वातावरण बनाइदिन सरकारले ध्यान दिनुपर्ने उनको माग थियो। कार्यक्रमको सञ्चालन सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भगतले गरेका थिए।

Leave a review

This will close in 0 seconds