कलैया : एक साता यता तराई–मधेस क्षेत्रमा चिसोको मात्रा उल्लेख्य रूपमा बढ्दै जाँदा यहाको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लाहरुमा बिहान र साँझ बाक्लो कुहिरो लाग्ने तथा शीतलहर चल्ने क्रम जारी रहेकाले मानिसहरुको दैनिकी जनजीवन कष्टकर बनेको हो।
अत्याधिक चिसोका कारण सर्वसाधारण बिहान छिटो घरबाहिर ननिस्कने, कामकाज ढिलो सुरु हुने तथा हाटबजार क्षेत्रसमेत सुनसान देखिन थालेका छन्। केहीदिनदेखी क्रमस चिसो बढ्न थालेपछि मधेस प्रदेशका आठ वटै जिल्लावासीहरुको जनजीवनमा असर परेको छ । चिसोले बारा जिल्लाका १६ वटै स्थानीय तहहरुमा असर गरेको छ ।
चिसो बढेपछि अहिले केही स्थानहरुको चौक चौराहमा मानिसहरु आगो बालेर ताप्न थालेका छन । स्थानीय तहहरूले पनि चिसोबाट प्रभावित नागरिकका लागि न्यानो कपडा वितरण, आगो ताप्ने व्यवस्था तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरु बताउछन। चिसोले खासगरी मजदुर, किसान र खुला ठाउँमा काम गर्नुपर्ने श्रमिकहरू बढी प्रभावित बनाएको छन । गाउँघरमा खेतबारीको काम गर्ने किसानहरुलाई समेत प्रभावित भएको स्थानीय किसानहरूले बताएका छन्।
पछिल्ला दिनहरुमा अत्याधिक चिसो बढेसंगै मानिसहरुका स्वास्थ्य समस्या पनि देखिन थालेको छ । अहिले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, दम र निमोनियाका बिरामीको संख्या बढ्दै गएको कलैया अस्पतालका एक चिकित्सकले बताए ।
विशेषगरी ससाना बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी चिसोबाट बढी जोखिममा रहेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। चिसो असर तरकारी बाली तथा अन्य अन्नबालीमा असर देखिएको छ । बालीनालीमा चिसोकै कारण डढुवा जस्ता रोगका शंक्रमण देखिएको जीतपुरसिमरा १७ का एक व्यवसायीक किसानले बताएका छन ।
चिसो र कुहिरोका कारण यातायात सेवा पनि प्रभावित भएको छ। बिहानको समयमा दृश्यता कम हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ढिलो चल्ने गरेका छन् भने कतिपय स्थानमा सडक दुर्घटनाको जोखिम समेत बढेको छ। बाराको एक मात्र सिमरा काठमाण्डौ हावाई सेवा प्रभावित हुदैआएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई–मधेस क्षेत्रमा शीतलहरको प्रभाव कायमै रहने र चिसो अझै केही दिन नघट्ने सम्भावना रहेको छ।


