नेरामावि सिमराको ६८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

रञ्जन यादव
140 पाठक संख्या

जीतपुर । बाराको सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) ले स्थापना भएको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको अवसरमा पहिलो पटक भव्य वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा बिहीबार सुरु भएको औपचारिक उद्घाटन समारोहमा सूर्य नेपाल प्रालिका प्रबन्धक प्रमुख सुरेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। समारोहमा विद्यालयको शैक्षिक यात्रा, हालसम्मका उपलब्धि तथा भावी योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिको विवरण प्रस्तुत गर्दै स्थापना कालदेखि निरन्तर समर्पित शिक्षक–शिक्षिकाको योगदानकै कारण अभिभावकको विश्वास मजबुत हुँदै गएको बताउनुभयो। उहाँले विद्यार्थी संख्या बढ्दै जाँदा कक्षा कोठाको अभाव, भौतिक संरचना विस्तार र आधुनिक प्रविधि भित्र्याउनु मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो।

सूर्य नेपाल प्रालिको १५ लाख रुपैयाँ सहयोगमा स्मार्ट बोर्डसहितको प्राविधिक ल्याब निर्माण गरिएको जानकारी दिँदै कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान हुँदै आएको पनि उहाँले बताउनुभयो। आगामी दिनमा पार्किङ व्यवस्थापन, थप कक्षा कोठा निर्माण तथा कक्षा ११ र १२ का लागि छुट्टै कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले ६८ वर्षको शैक्षिक यात्रामा विद्यालयले क्षेत्रीय शिक्षामा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो। शिक्षा नै राष्ट्र विकासको आधार भएकाले गुणस्तरीय शिक्षासँगै भौतिक पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको उहाँले जोड दिनुभयो।

सूर्य नेपाल प्रालिले प्रशासनिक भवन, कम्प्युटर ल्याब तथा स्मार्ट बोर्ड जस्ता पूर्वाधारमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अवसरमा विद्यालयको स्मारिका विमोचन गरिएको थियो भने प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो। उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, शिक्षा शाखा प्रमुख शिवजी प्रसाद, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले विविध सांस्कृतिक प्रस्तुति र गीत–संगीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षिका सिता अधिकारीले गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन हुने ६८औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार समापन हुने आयोजकले जनाएको छ।

Leave a review

This will close in 0 seconds