कलैया : सिचाइको समस्या दीर्घकालीन रूपमा समाधान गर्न मधेस प्रदेशमा ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याइने मुख्यमन्त्री कृष्ण यादवले घोषणा गरेका छन् ।
बाराको निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत महागढीमाई नगरपालिका वडा नं. ३ र १० का किसानसँग शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले नाला, पइन, सिचाइ बाँध, खेतसम्म सिचाइ नाला विस्तार, उन्नत बीउबिजन, आधुनिक प्रविधि र विदेशी प्राविधिक सहयोगमार्फत उत्पादन वृद्धि गरिने बताए। आफू कृषिको विद्यार्थी र किसानको छोरा भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
उनले कटगाउँ सिचाइ बाँध निर्माण प्रदेश सरकारको जिम्मेवारीमा अघि बढाइने बताए। मुख्यमन्त्री पद सम्हालेको दिनदेखि नै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार आफ्नो पाँच मुख्य एजेन्डा रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री यादवले मधेसमा कृषि बाहेक अन्य स्रोतसाधन न्यून रहेको उल्लेख गर्दै यहाँको उर्वर भूमि र किसानको मेहनत नै समृद्धिको आधार भएको बताए। खाद्य, पानी, सिचाइ, बजारिकरण तथा उत्पादनको उचित मूल्य नपाउने समस्या समाधानका लागि प्रदेश सरकार सक्रिय रहेको उनले जानकारी दिए। आगामी असार महिनाअघि नै नयाँ योजनाहरू कार्यान्वयनमा देखिने दाबी समेत उनले गरे।
कार्यक्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ बाट भैयाराम यादवलाई विजयी गराउन आग्रह गरे। समाजसेवामा सक्रिय र स्पष्ट भिजन भएका उम्मेदवार भएकाले उनलाई जिताउन आवश्यक रहेको उनको भनाइ थियो।
सो अवसरमा उम्मेदवार यादवले किसान विश्वकै सबैभन्दा बढी जोखिम लिने वर्ग भएको उल्लेख गर्दै कटगाउँ सिचाइ बाँध निर्माण आफ्नो प्राथमिक जिम्मेवारी रहने प्रतिबद्धता जनाए। आफू नेताभन्दा पनि किसानको छोरा भएको उनले बताए।
नेपाली कांग्रेस महागढीमाई नगरपालिका वडा नं. १० का वडा सभापति सुरेश प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल, जिल्ला सह–सचिव प्रमोद प्रसाद यादव, नगर उपप्रमुख तारा देवी लगायत नेता, कार्यकर्ता तथा किसानहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विजय प्रसाद यादवले गरेका थिए।

