लतपतिएको बिकास बिम्ब : डा. शोभाकर पराजुली

साझेदारी डेलि
188 पाठक संख्या

लतपतिएको बिकास बिम्ब
लेखक : डा. शोभाकर पराजुली

चर्चित अमेरिकी राष्ट्रपति स्व. जोन एफ केनडीले भन्नुभएको छ, ‘देशले मेरा लागि के दियो भन्ने होइन, मैले देशका लागि के दिएँ भनेर आफूले आफैंलाई सोध…।’

कुनै बेला राष्ट्रभाव अनि देशप्रेम र राष्ट्रियताले ओतप्रोत यो भनाइलाई अहिले पनि देशभक्ति भनाइका रुपमा लिइन्छ। केनडी कुनै राजनीतिक दर्शनका ज्ञाता होइनन्। उनी आफ्नो युगका एक शक्तिराष्ट्रका सफल नेतृत्व हुन्। आफ्नो अनुभवका आधारमा उनले यो उद्धरण आफैले निर्माण गरेका पनि हुन्। जसलाई राष्ट्रियताको चर्को भाव व्यक्त गर्न प्रयोग गरियो। तर यसको मसिनो अर्थ हो, हरेक नागरिकको दायित्व राष्ट्रप्रति पनि हुन्छ। त्यो अधिकारसँग गाँसिएला कतै कुनैसँग जोडिएला तथापि त्यसले दिने अर्थ भनेको सधैं राष्ट्रिय दायित्वसँग हुन्छ। राष्ट्र अनि समाजप्रतिको त्यही दायित्वबोधले जब अभावको सिमा नाघ्छ अनि समाज अरजाकताको बाटोमा बेपत्ता हुन्छ। हामीले यो दशकको अन्त्यतिर जे भोगिरहेका छौं यो त्यसकै परिणाम हो।

वर्ष २०८२ले हामी नेपालीलाई एउटा निकै भयानक चोट दिएको छ। र, सँगसँगै हरेक पुस्तालाई ऐतिहासिक जिम्मेवारी पनि सुम्पेको छ। २०८२ साल भदौ २३ र २४ गते नेपालका नवपुस्ताले गरेको विद्रोहले देशलाई एउटा अप्रत्यासित बाटोतिर लग्यो। राजनीतिक रिक्तता र जलेर बचेखुचेका ऐतिहासिक धरोहररूलाई टक्टक्याएर हामी नेपाली फेरि राजनीतिको एउटा फेरो समाएर अघि बढ्ने प्रयासमा छौं। विद्रोह किन हुन्छ? अनि कसले गर्छ? खासगरी नागरिकभित्र लामो समय गुम्सेर रहेको असन्तुष्टी र असन्तोषहरूको विष्फोट नै विद्रोह हो। त्यो असन्तोष भनेको नागरिकको चाहना, भावना र उनीहरूको आवश्यकतालाई नेतृत्वले गम्भिरताका साथ नलिनु हो। नेतृत्वमा पुगेपछि आफूलाई शासकका रुपमा उभ्याउनु अनि नागरिकलाई दास नै सम्झिने हाम्रो प्रवृत्तिका कारण समाजमा विस्तारै असन्तोषको भूमरी भरिदैं जान्छ। अनि अन्तत: त्यो विष्फोट भएर निस्किन्छ विद्रोहको स्वरुपमा।

यद्यपि परिवर्तनको एउटा शूत्र हो ध्वंश अनि निर्माण। तर नेपाल र नेपालीले आधा दशकदेखि ध्वंश अनि विध्वंशहरूमात्रै भोग्यो। हाम्रो पुस्ताले त्यही नै देख्यो। विध्वंश हुँदै गरेको समयमा जन्मिएको यो पुस्ताले निर्माणको राजमार्गमा कहिल्यै पाइला टेक्न पाएन। विकासको गतिलो आशा र भरोसा कहिल्यै पाएन। भविष्यको सपना कहिल्यै देख्न पाएन। बरु उसले सधैं देश कहिले र कसरी छोड्ने भन्ने सपना बुनिरह्यो। यो समाज अलकति राजनीतिक चेतनाले अंकुराउन त थाल्यो तर समाजिक विवेचनाको गणितमा नेपाली मानसिकता सधैं पछि नै रह्यो। अर्धचेतनाको सबैभन्दा खतरनाक पक्ष भनेको असन्तुष्टी, असन्तोष अनि नकारात्मक भावनाको ज्वारभाटामात्रै हो।

त्यही ज्वारभाटा नेतृत्व अनि राजनीतिमाथि विष्फोट हुन्छ। हरेक दशकको घडीमा हामीले भोग्दै आएको विद्रोहको विद्रुपरुप त्यसकैको उपज हो। यद्यपि देशमा केही नभएको भन्ने होइन। मात्रै भइरहेका कामहरूलाई हामीले कस्तो भाष्यमा स्थापित गर्‍यौं भन्ने हो। सामाजिक सञ्जालले साँघुरिदैं गएको यो युगमा हामीले बनाउने भाष्य निमेषभरमै स्थापित हुनसक्छ। यो ‘भाइरल’ बिक्ने युग पनि हो। त्यसैले हामीले हाम्रो परिवारमा, समाजमा अनि देशमा नयाँ पुस्तालाई कस्तो संस्कार दिँदैछौ? महत्वपूर्ण कुरा त्योमात्रै होइन बरु हामीले हाम्रो समाज, राष्ट्र अनि राष्ट्रियतामाथि आफ्नो नयाँ पुस्तालाई कस्तो भाष्य निर्माण गर्न वातावरण बनाइरहेका छौं मुख्य सरोकार यहिँनेर रहन्छ।

के देशमा साँच्दै केही भएको छैन? के यहाँ निराशा, असन्तोष र असन्तुष्टीहरूमात्रै छन्? छन् भने किन यस्तो भइरहेको छ? यी तमाम प्रश्नहरूको गतिलो उत्तर आजको पुस्ताले पाउन सकेको छैन। समाजले विकासको पर्याय र विकासको परिभाषा बुझिरहेको छैन। न विकासको पर्याप्तताबारे उसलाई पर्याप्त ज्ञान छ। यो समाजको दोष होइन नेतृत्वले उसलाई के कति बुझाउन चाह्यो वा बुझाउन सक्यो भन्ने अहिलेसम्मकाझ थाती प्रश्न हो। जसले समाजलाई सधैं हल्लाइरहन्छन् र बेलाबेलामा त्यो विद्रोह बनेर विष्फोट हुन्छ। यही सामाजिक अर्धचेत नै मूल कारण हो जहाँ देशको राजनीतिक स्थायित्वकरण सधै एउटा भयानक धारमा रहिआएको छ। चेतनाभित्र विवेचनाको ज्ञान भरिननसक्दा समाज यसरी नै छचल्किन पुग्छ।

भरिएर पोखिनु फरक कुरा हो, आधा भएर छचल्किएको फोकाले पनि बढी चोट दिन्छ। हामीले भोग्दै आएको समाजिक अराजकताको परिणाम त्यसकैको वरिपरि छ। जसलाई हामीले सधैं नजरअन्दाज गर्दै आएका छौं। यद्यपि हाम्रो समाजिक संरचना र प्रवृत्तिहरू त्यसैअनुरुप विकसित हुँदै आएका छन्। जसलाई हामीले परिवर्तन गर्न अलि लामो समय लाग्नसक्छ। तथापि हामी त्यसको बाहक भने बन्दैपर्छ। सचेतना, चेतना र विवेचनाले भरिएका मष्तिस्कहरूले जबसम्म समाजमा सकारत्मक भाष्य निर्माणमा भूमिक खेल्न सक्दैनन् समाज सधैं यस्तै अर्धचेतको धरमरले धरमराइरहन्छ। र अन्तत: त्यसको परिणाम भनेको त्यही अराजकता नै हो। जो विद्रोहको भावलाई बिथोल्न लाग्छन्। परिवर्तनका आकाक्षाहरूलाई विध्वंशमा परिणत गर्न उद्यत हुन्छन्। त्यसका लागि के गर्ने? हामी अभ्यस्त नभएकोमात्रै हो त्यसको जवाफ सटिक छ अनि तरिका सजिलो छ, त्यो भनेको अब हामीले विकासको तरिका बदल्नुपर्छ। विकासको परिभाषा र भाष्य बदल्नुपर्छ। त्यसका परिणाम र महत्वलाई हामीले हाम्रो भविष्यसँग गाँस्नसक्नुपर्छ। त्यसबाट नयाँ र आगामी पुस्ताको भविष्य जोडिनुपर्छ। विकास निर्माणका हरेक कदममा हामीले समाजको अपनत्व स्थापित गर्नुपर्छ। न कि चिल्ला सडक र गगनचुम्बी भवनहरूले मात्रै विकासको परिभाषा दिन्छन्। निष्कर्षमा त्यो भनेको विकासको परिभाषालाई अब हामीले स्थानीयकरण गर्नुपर्छ भन्ने हो। अर्थात् विकासको स्थानीय परिभाषाले त्यसमा समाजको अपनत्वको हिस्सा बढ्नसक्छ। र त्यो विकास दीगो अनि परिणामदायी पनि हुनसक्छ।

हामीले विकास त गरिरहेका छौं तर त्यो किन र कसका लागि भनेर त्यसलाई स्थापित गर्नसकिरहेका छैनौं। जब हामीले विकासलाई साँच्चिकै भुइँमान्छेको जिन्दगीसँग जोड्नसक्छौं अनिमात्रै त्यो विकासले सार्थकता पाउनसक्छ। यो खालको परिभाषाबिना योजना बनाउन थाल्यौँ भने साँच्चिकै त्यो धरातलभन्दा धेरै नै माथि जान्छ र त्यसले वास्तविक जनता (उपभोक्ता) लाई छुनै सक्दैन । आज गाउँ किन रित्तिइरहेका छन् ? सहर किन भरिइरहेका छन् ? किन बाँझा खेतबारीमा पक्की घर बसाएर हामीले सहरका दालमोठ र चाउचाउमा जीवन काटिरहेका छौँ ? के यो नै नेपालका लागि विकासको मोडल हो? संसारमा विकसित भइरहेका प्रविधिलाई हामीले हाम्रो जीवनशैलीको उपादेयता वा हाम्रा स्थानीय उत्पादनमा वृद्धि, त्यसको बजारीकरण र व्यवसायीकरणसँग कत्तिको जोड्न सकेका छौँ? लामो समयपछि हामीले स्थानीय सरकार पायौं। २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएयता खलबलिएका हाम्रो स्थानीय सरकारहरूमा लगभग २५ वर्षपछि हामीले प्राण भर्न सक्यौं। बितेका यी दुई दशकमध्ये कम्तीमा एक दशक हामीले सशस्त्र युद्धको मार खेप्नुपर्‍यो।

आन्तरिक युद्धको त्यो विध्वंशले एउटा सिङ्गो पुस्ताको भविष्यलाई बिथोलिदियो। त्यसपछिका करिब ७ वर्षहरू संविधानसभाको गठन र विघटनजस्ता राजनीतिक अस्थिरताको शिकार बन्यो। र पनि अन्तत: हामीले हाम्रो संविधान लेख्यौं। २०७२ सालमा नेपालको राजनीतिक इतिहासमा पहिलोचोटी जनता आफै हिस्सेदार बनेर आफ्नो संविधान लेखे। संविधानसभामार्फत्। यो उपलब्धीसँगसँगै २०७४ सालमा स्थानीय निर्वाचन भयो। अनि हामीले हाम्रै घरआँगनकै उपलब्धता हेरेर स्थानीय सरकारका प्रतिनिधिहरू चयन गर्‍यौं। तर फेरि पनि आमनागरिकलाई लाग्यो कि हामीले केही पाएनौं? अर्थात् नेतृत्वको (अझ खासगरी स्थानीय सरकार) कमजोरी भनेको यही रहनगयो हामीले आम नागरिकलाई सरकारप्रतिको अपनत्व कहिल्यै महसुस गराउन सकेनौं। आम नागरिकको हरेक सुखदुखको अंशियार हुनुपर्ने स्थानीय सरकारका प्रतिनिधिहरू मात्रै विकासका ठेकेदार बन्न थाले।

जसका कारण आमनागरिकसँग जनप्रतिनिधिहरूको दूरीबीच अझ गहिरा खाडलहरू पर्दै गए। विकासका नाममा पहाड र पखेराहरू चिरा परेकामात्रै देख्यौं। खोलानदीको प्राकृतिक रुप बिथोलेर तिनलाई चिथोरेकोमात्रै देख्यौं। आखिरी प्रकृती चिथोरिनु भनेकै हाम्रै जीवन उध्रिनु हो। प्रकृतीको यो अकाट्य परिभाषा र अनि सत्यलाई हामीले कहिल्यै स्वीकार्न सकेनौं। हरेक सरकारकाले नागरिकको जनजीवनलाई परिवर्तन गर्नेगरी वा त्यसको महसुस हुनेगरी नीति निर्माण गर्छ। योजना र आयोजनाहरू बनाउँछ। तर त्यसकै नाममा छुट्याइएका बजेटका आधा हिस्सा फेरि हामीले जबर्जस्ती जमिन उधिनेर बनाएका बाटो मर्मतमा खर्च भइरहेको छ। एकातिर बनाइरहेका हुन्छौं अनि अर्कातिर भत्किइरहेको हुन्छ। अर्थात् आज हामीले विकासका यी मनमौजी योजना र निर्माणहरू हेर्‍यौं भने लाग्छ हाम्रा लागि विकास भनेकै बाटोमात्रै हो। अर्थात् बाटोलाई हामीले विकासको बिम्ब बनायौं। तर बन्ने र भत्किनेमात्रै भइरहे। अर्थात हामीले यी बाटाहरू भत्काउनकै लागि बनायौं र फेरि मर्मतका नाममा पैसा खर्च गरिरह्यौं।

विकासको बिम्ब नै यसरी हामीले खोतलिरहेको बाटाहरूको महत्वलाई हामीले राष्ट्रिय पूँजीसँग कहिल्यै जोड्नसकेनौं। न त समाजिक पूँजी निर्माणमा ती बाटाहरूको कुनै योगदान रह्यो। यसरी मात्र हेर्‍यौँ भने पनि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका आज कुनै पनि जिल्ला बाँकी छैनन्। मूल बाटासँग नगाँसिएका कुनै पनि बस्ती छैनन्। आज गाउँटोलका अधिकांश सडकहरू कालोपत्रे भएका छन्। बाटाघाटा, पानीधारा अनि सिंचाइले रसाइरहेका हाम्रा जमिनको उपयोगिताबारे भने हामीले कहिल्यै आफूले आफैलाई वा कसैले कसैलाई प्रश्न गरेनौं। आखिर यसरी हामीले बालुवामा पानी खन्याएझैं गरी हरेक नागरिकको टाउकोमा नजन्मिदैं ऋणको भार थपेर गरिरहेको विकासको उपादेयता के हो? त्यसको परिणाम वा प्रतिफल के हो र कति छ? ती बाटा भएपछि हामीले हाम्रा गाउँघर, खेतबारी अनि करेसामा फलेका चिजवस्तु सहरसम्म पुर्‍याउन सक्नुपर्थ्यो। विडम्बना, गाउँबस्ती पुग्ने मोटरगाडी वा अरू सवारीसाधनले सहर फर्किंदा मात्र मानिसका हुल ल्याउँछन। गाउँघर, खेतबारीमा हामीले उत्पादन गर्ने सागसब्जी सकिएका छन्। गाउँका खेतबारी बाँझा छन्। अनि हामीले ती खेतबारीमा फल्ने साँझबिहानको गाँससमेत सहरबाटै आउने यी गाडीहरूमा भरिरहेका छौं। हामीले ती मोटरगाडीमा सहरका उत्पादन गाउँ पुर्‍याएर गाउँले उत्पादनलाई विस्थापित गर्दैछौँ। अर्थात् बाटो त बन्यो तर त्यसले हाम्रो समाजलाई कत्ति पनि जोड्न सकेन। अर्थात् भावनात्मकरुपमा अहिले पनि हाम्रा गाउँ र सहरहरू एक अलग अलगत ग्रह नै हुन् कि भन्ने मान्यता अझ गहिरो बन्दै गइरहेको छ।

यी बाटाहरू अनि चिल्ला सडकहरू त अब अहिले मात्रै पूँजीपतिका उत्पादनलाई गाउँ पुर्‍याउने मार्ग मात्रै बनिरहेका छन्। गरिबलाई विकास र उत्पादनसँग जोड्ने कडीका रुपमा स्थापित हुनुपर्ने यी बाटाहरू मात्रै हाम्रो गाउँले र प्राकृतिक जीवनलाई परनिर्भर बनाउन उद्यत छन्। त्यसैले पनि समाजवादका सिद्धान्तकार महामानव बिपीले कुनै बेला भन्नुभएको थियो ‘के नेपाल भनेको यहाँका चार–पाँच वटा सहर हो? कि नेपाल भनेको गाउँ हो? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के गर्‍यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ । ठुलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ, उसैले उपयोग गर्छ। जेट प्लेन गाउँलेले चढ्दैन, बिजुलीको प्रचुर प्रयोग गर्दैनन्। त्यस कारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ, तपाईंहरू भित्तामा राजाको तस्बिरसँगै नेपालको गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्– यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ? विकासको परिभाषा समग्रतामा हुनु पर्छ भन्ने सन्देश बिपीको त्यो अभिव्यक्तिले दिन्छ। पहुँचको आधारमा योजना दिने, आवश्यकता तर्फ आँखा चिम्लने अनि मन्त्री भएकाहरूले आफ्नो निर्वाचन क्षेत्रलाई ‘भोट बैङ्क’ बनाउन पैसा हाल्ने प्रतिस्पर्धा गर्ने यी तीन प्रवृत्तिले हामीलाई अलमलमा पारेको छ।

विकासलाई स्थानीय परिवेशमा परिभाषित गर्न नसकेकै कारण यी प्रवृत्ति मौलाएका हुन् । विकास भनेको हामीले मात्र बाटो बनाउनुलाई ठान्यौँ, अनि पहाड खोतल्न थाल्यौँ । बाटाघाटाले मात्र विकासको आयातन नाप्छ भन्ने एउटा परिभाषाको मिथकलाई उतार्न हामीले मात्र ‘डोजरे विकास’ लाई प्राथमिकतामा राख्यौँ। त्यसबाट कसले के पायो? प्रश्नको यो अन्तर्यमा लुकेको अझ अर्को अहंम् प्रश्न हो त्यसबाट भुइँमान्छेको जीवनमा के परिवर्तन आयो? आज पर्यन्त आधुनिक नेपालको इतिहासमा विकासको साँचो अर्थलाई व्याख्या गरिएको बिपीका यिनै धारणा, विचार र चिन्तनहरू मात्र पाइन्छन्। त्यसपछि विकासलाई हाम्रो आफ्नै धरातलसँग जोडेर परिभाषित गरिएकै छैन। विकासको परिभाषा निर्माण नगरी योजना बन्दा ती योजनाको हालत कस्तो होला भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। २०४६ को परिवर्तनपछि उदार अर्थनीति र पूर्वाधार विकासलाई प्राथमिकता त दिइयो, त्यसलाई अहिलेका बजेटले समेत पछ्याइरहेका छन्। त्यो उदार अर्थनीति र पूर्वाधार निर्माणको लक्ष्य के हो? भन्नेमा पनि प्रस्ट दृष्टिकोण अहिलेसम्म कसैले दिन सकिरहेको छैन। विकासका नाममा ठडिएका महलहरू, चिरिएका बाटाहरू अनि मात्रै कंक्रिटको भौतिक विकासे टावरहरूले स्थानीयलाई के दिए, के ती त्यहाँको माटो सुहाउँदो छन्? त्यसको खास तालमेल कत्ति मिल्न सकिरहेको छैन।

अझ हाम्रा उत्पादन भनेक त्यसको न्यायोचित वितरणसहित उच्च नैतिक आचरणसहितको सामाजिक न्याय र मानवीय मूल्ययुक्त उच्चतम नवीन सभ्यता निर्माणको बाटो समाउनु हो। यो नै प्रजातान्त्रिक समाजवाद उन्मुख परिवेश पनि हुन्छ। समाजवाद भनेको एउटा कुनै भौतिक संरचना होइन वा त्यसको ठोस परिभाषा र उदाहरण झल्किने चित्र ठ्याक्कै केही छैन। विकास भनेको पनि त्यस्तै हो। यसको कुनै ठोस परिभाषा छैन। तर त्यसको आफ्नोपन र स्पष्ट चित्र पनि पक्कै हुन्छ। अर्थात् माटो सुहाउँदो विकास सधै जनताको जनजीवनसँगै रहिरहन्छ। त्यसमा जनताको आफ्नोपन हुन्छ। आत्मीयता हुन्छ। अपनत्वको त्यही भाव नै विकासको उपादेयिता हो।

अर्थात् विकास भनेको मात्रै भौतिक संरचनाका बग्रेल्ती उपस्थिति होइन बरु जनतामा आफ्नो जीवन परिवर्तनकाव आभाष पनि हो, त्यसैको शूक्ष्मरुप भनेको समृद्धि हो अर्थात् जनताको जीवनमा महसुस हुने तिनै विकासका अणुहरू नै समृद्धिका आधारहरू हुन्। अहिलेको खास समस्या भनेको सिद्धान्त, त्यसको जगमा विकासको परिभाषा निर्माण अनि त्यसको कार्यान्वयनको दिशामा गतिशीलताको पक्षलाई अझै पनि संस्थागत गर्न नसक्दा देशले समस्या झेल्दै आएको हो। त्यसैले पनि बिपीलाई लाग्थ्यो विकास भनेको संरचनाका अग्ला स्तम्भ मात्र होइनन्। त्यसले भुइँमान्छेलाई कसरी र कहाँ जोडेको छ अर्थात् उनीहरूको जीवनमा के परिवर्तन आयो? त्यसको परिणाम नै विकास हो, न कि बिपीकै भाषामा ‘भुइँफुट्टा वर्गको स्वार्थ’ अर्थात् उसको फाइदाका लागि तयार गरिएका संरचना विकासका विम्बका रुपमा स्थापित हुन थाल्यो भने समाज सधैं बर्गीय विभाजनको कहिल्यै सन्चो नहुने बिरामीले सधैं थलिइरहन्छ। त्यसको परिणाम देश कहिल्यै माथि उठ्नसक्दैन।

अब समय आएको छ। समयले मौका पनि दिएको छ। २०६२/०६३ को जनआन्दोलनपछि दशकभित्रै भएको नवपुस्ताको विद्रोहले समाज, राजनीति र समग्र देशको मार्गचित्र नै एकप्रकारले बिथोलिदिएको छ। तथापि हामी फेरि बिथोलिएको यो समाजलाई, जलेका हाम्रा धरोहरहरूलाई अनि भत्किएको राजनीतिक संरचनालाई नयाँ रेखाङ्कन गरेर अघि बढ्ने बेला भएको छ। विद्रोहको जगमा हामीले फेरि एकपटक नवपुस्ताको नयाँ भविष्यको रुपरेखाबारे नयाँ नयाँ बिचारहरू जन्माउनुपर्नेछ। राजनीति भनेको मात्रै चुनावी अंकगणित वा सत्ताको सिँढीमात्रै होइन। त्यो मात्रै एक साधन हो, राष्ट्र निर्माणको अभिभारा त नेतृत्वको कालजयी सोंच, दूरगामी विकासको दृष्टीमात्रै साध्य हो। त्यसैले विकासलाई मात्रै हामीले भौतिक निर्माणको अंगका रुपमा स्थापित नगरौं। त्यसलाई नागरिकको जीवनशैलीसँग घुलमिल हुने एक अंशकारुपमा स्थापित गरौं।

यसको अर्थ के हो भने विकास र राजनीति समाजका दुई भिन्न तर महत्वपूर्ण र एकअर्काका परिपूरक हुन्। जसबाट आम नागरिकको जीवनस्तर, उनिहरूको जीवनशैली र समग्र राष्ट्रकै भविष्य निर्धारण हुन्छ। अर्थात् विकासका भनेको उनै राजनीतिज्ञहरूले गर्ने नीति र निर्माणको खाका हो, जहाँ नागरिकको जीवनचित्र झल्किनुपर्छ। त्यसबाटै समग्र राष्ट्रको भविष्य पनि निर्धाण हुन्छ। तसर्थ हामीले कोर्ने विकासको खाकाभित्र एउटा आमनागरिकको बिम्ब हुनैपर्छ जसले हाम्रो देश अनि नागरिक र भविष्यको सारा भाव बोकिरहेको हुन्छ।

Leave a review