संयुक्त बजार अनुगमन टोलीद्वारा कलैयामा ७ पसलमा छड्के अनुगमन, दुई स्विट्सलाई जरिवाना

साझेदारी डेलि
148 पाठक संख्या

बारा । बाराको कलैयामा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७ वटा पसलमा छड्के अनुगमन गरिएको छ भने दुई वटा मिठाई पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कलैया उपमहानगरपालिका–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरीमा गुणस्तरहीन मो:मो, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्य सूची समेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी कलैया–५ स्थित केसर स्विट्समा म्याद गुज्रिएको आइसक्रिम र मो:मो फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा कलैया–४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोरमा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त तेल पसल अगाडि नै नष्ट गरिएको छ ।

यस्तै, कलैया–४ बरियारपुर रोडस्थित नेपाल डेरी उधोग,एक मासु पसल र अदालत रोडस्थित सत्या होटललाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ । दुर्गा खाजा घरमा काटा (नापतौल) सम्बन्धी अनुमति पत्र नभएको पाइएपछि नापतौल कार्यालय वीरगञ्जमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । नवल सेकुवामा मूल्य सूची नराखिएको पाइएपछि चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।

उक्त अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्र झा, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादव, प्रशासन शाखाका रत्न स्याङतान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधिका जित चौधरी, गुणस्तर कार्यालयका जोखन चौहान, उपभोक्ता अधिकार मञ्चका अरुण खनाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि शिवशंकर साह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds