धनुषा । जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ । पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको थियो ।
उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार फर्छ्यौट भएका मुद्दामध्ये अघिल्लो वर्षबाट सरी आएका दुई हजार २६७ र नयाँ दर्ता भएका तीन हजार ३८४ सहित कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको छ । उहाँका अनुसार दुई हजार ५३६ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
अदालत सम्बन्धमा जानकारी दिँदै सो अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायीक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फर्छ्यौटको अवस्थाबारे जानकारी दिनुभयो । विवरणअनुसार जिम्मेवारी सरी आएका मुद्दामध्ये एक हजार ७२४ मुद्दा फर्छ्यौट गरी ५४३ मुद्दा बाँकी रहेका छन् ।
यसैगरी, चालु वर्षमा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ३९१ मुद्दा फर्छ्यौट हुँदा एक हजार ९९३ मुद्दा अझै बाँकी छन् । अदालतको कुल मुद्दा फर्छ्यौट प्रतिशत ५५ दशमलव १२ रहेको जानकारी दिइएको छ ।
अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । सार्वजनिक विवरणअनुसार एक वर्षदेखि १८ महिनाभित्रका ३७४ मुद्दा, १८ महिनादेखि दुई वर्षभित्रका ७० मुद्दा तथा दुई वर्ष नाघेका चार मुद्दा अझै विचाराधीन रहेका छन् । त्यसैगरी, २०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको सङ्ख्या १२४ रहेको अदालतले जनाएको छ ।
कामु मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अदालतले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो । अदालतले चालु आर्थिक वर्षका लागि चार हजार ५४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ ।


