कलैया । प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा कर असुलीको ठेक्का अवधि सकिएपछि पनि अवैध रूपमा बिटौरी कर उठाइएको आरोपमा किसान तथा व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्। हाट बजार किसान संघर्ष समितिको अगुवाइमा सोमबार गरिएको प्रदर्शनमा स्थानीय व्यवसायी र किसानको उल्लेखनीय सहभागिता थियो।
प्रदर्शनकारीहरूले बजार क्षेत्रमा नाराबाजी गर्दै गाउँपालिका कार्यालयसम्म पुगेर प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले १४ महिनादेखि असुल गरिएको कर तत्काल फिर्ता गर्न तथा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।
आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तमै कर असुलीको ठेक्का सकिए पनि त्यसपछि नयाँ प्रक्रिया नअपनाई कर उठाउने काम जारी राखिएको संघर्ष समितिका प्रतिनिधि एवम् नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल कुमार गुप्ताले बताएका छन। “किसान र साना व्यापारीलाई जानकारी नै नदिई जबरजस्ती कर उठाइएको छ,” उनले भने।
गुप्ताका अनुसार दैनिक रूपमा २० देखि ५० रुपैयाँ र चाडपर्वमा १०० देखि २०० रुपैयाँसम्म असुली गरिएको छ। यसरी १४ महिनाको अवधिमा लाखौं रुपैयाँ संकलन भएको दाबी गरिएको छ।
स्थानीय व्यापारी महम्मद इमरान आलमले पनि कर असुली प्रक्रिया पारदर्शी नभएको र दादागिरी शैलीमा रकम उठाइएको आरोप लगाए। “व्यापार भए पनि नभए पनि कर तिर्न बाध्य पारिन्छ,” उनले गुनासो गरे। प्रदर्शनपछि स्थानीयले समस्या समाधान नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यता, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भने अवैध कर असुलीको जानकारी पाएपछि तत्काल रोक लगाइएको बताए। उनले सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गरिसकिएको र अब कार्यपालिका बैठकबाट छानबिन समिति गठन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने जानकारी दिए।


