दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राखेर काम गर्न डीआईजी थपलियाको निर्देशन

साझेदारी डेलि
77 पाठक संख्या

पथलैया । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले सवारी दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राखेर प्रभावकारी कार्यसम्पादन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।

शुक्रबार बाराको पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षणका क्रममा उहाँले दुर्घटना नियन्त्रणका लागि वैज्ञानिक र व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

डीआईजी थपलियाले सवारी दुर्घटनाका मूल कारणहरू पहिचान गरी तथ्यमा आधारित रणनीति निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभयो।

साथै, सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउँदै प्रहरीप्रतिको जनविश्वास मजबुत बनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले सडक सुरक्षामा केवल कारबाही पर्याप्त नहुने उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

नागरिक, स्थानीय निकाय तथा सरोकारवाला संस्थासँग सहकार्य गरी सचेतना विस्तार गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।निरीक्षणका क्रममा बारा र पर्सा जिल्लाका ट्राफिक प्रमुख, पोस्ट इन्चार्ज तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बस्नेत र प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिलबहादुर सिंहले प्रदेशको ट्राफिक अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुति दिएका थिए।

डीआईजी थपलियाले “सडक सुरक्षामा जनस्तरमै चेतना अभिवृद्धि गर्न सके मात्र दुर्घटना न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ,” भन्दै सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो।

Leave a review