बिजुली, पानी र विवाह रकम भुक्तानीको माग गर्दै मौलापुर नगरपालिकाविरुद्ध आन्दोलन घोषणा

Om Prakash Yadav
73 पाठक संख्या

रौतहट । रौतहटको मौलापुर नगरपालिकाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। नगरपालिकाले नगरबासीलाई वितरण गर्दै आएको बिजुली, खानेपानी तथा विवाहसम्बन्धी सामाजिक सहयोगको रकम पछिल्लो केही महिनादेखि रोकिएको भन्दै असन्तुष्टि चुलिएको हो।

यसै विषयलाई लिएर मौलापुर नगरपालिकाका विभिन्न वडामा गठित संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। समितिका अनुसार नगरपालिकाले नागरिकलाई उपलब्ध गराउनुपर्ने आधारभूत सेवा तथा सहयोग रकम समयमै नदिँदा जनजीवन प्रभावित भएको छ। संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार आगामी दिनमा चरणबद्ध आन्दोलन हुनेछन्। वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तर्क्रिया तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ।

त्यसपछि वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई औपचारिक ज्ञापन–पत्र बुझाइनेछ। त्यसैगरी वैशाख २१ गते नगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ। मागको सुनुवाइ नभए जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने कडा चेतावनी पनि दिइएको छ।

स्थानीयवासीहरूले नगरपालिकाले पारदर्शी रूपमा सेवा प्रवाह नगरेको, आवश्यक सामाजिक सहयोग रोकेको र जनताको समस्या बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले तुरुन्त समस्या समाधान गरी रोकिएको भुक्तानी उपलब्ध गराउन माग गरेका छन्। यता नगरपालिकाको तर्फबाट भने हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Leave a review