बारा । वीरगञ्जका विभिन्न क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख २६ गते बिहान करिब ११ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्जका चार वटा क्यासिनोमा एकसाथ छापा मारेको हो।
प्रहरीले किङ क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब्स तथा क्यासिनो माहजोङ लगायतका क्यासिनोबाट जुवातास खेलिरहेको अवस्थामा संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भारतको विहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव, पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट रु. ५०० दरका क्यासिनो क्वाइन, नेपाली रुपैयाँ ५५५, भारतीय रुपैयाँ १२०० तथा दुई थान रेडमी मोबाइल बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

