नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जमा एआई, आईटी र स्मार्टबोर्ड सम्बन्धी तालिम सम्पन्न

रञ्जन यादव
58 पाठक संख्या

बारा । श्री नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जमा एआई, सूचना प्रविधि (आईटी) तथा स्मार्टबोर्ड सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ। प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सम्पन्न भएसँगै विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरण समेत गरिएको छ।

तालिममा शिक्षक तथा सम्बन्धित कर्मचारीलाई एआई तथा सूचना प्रविधिको प्रयोग, स्मार्टबोर्ड सञ्चालन र कक्षाकोठामा प्रविधिको प्रभावकारी उपयोगका विषयमा प्रशिक्षण दिइएको छ। पछिल्लो समय शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा यस्ता तालिमले शिक्षकहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा हतालिमको समापन भएको हो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी प्रमुख अतिथि थिए। विशेष अतिथिका रूपमा सुदन चौधरीको सहभागिता रहेको थियो।कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रोहितबहादुर घिसिङ तामाङले स्वागत गरे। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक माधव नेपालले गरेका थिए।

वडा अध्यक्ष श्रेष्ठले शिक्षामा प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएकाले विद्यालयमा उपलब्ध स्मार्टबोर्ड तथा एआई र आईटीसम्बन्धी ज्ञानलाई नियमित पठनपाठनमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। स्मार्टबोर्डको प्रयोगले परम्परागत शिक्षण पद्धतिलाई थप अन्तरक्रियात्मक, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। विद्यालयलाई हस्तान्तरण गरिएको स्मार्टबोर्डलाई प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने तथा शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै लैजाने विद्यालयले जनाएको छ।

Leave a review