बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंकामा मुख्य आरोपीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे होटलमा जीतपुरसिमरा–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कालाई जीतपुरसिमरा-१६ बस्ने २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा सोकोसहितको टोली घटनास्थल पुगेको थियो। घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो।
तर, अस्पतालमा उपचारका क्रममा साँझ ६ः४० बजे चिकित्सकले खड्कालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शव बयोधा अस्पतालमै राखिएको छ।
घटना पश्चात फरार भएका मुख्य आरोपी राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले राति करिब १० बजे जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पाँचौ जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

