पर्सामा ३० किलो गाँजासहित तिन जना पक्राउ

साझेदारी डेलि
47 पाठक संख्या

पर्सा । पर्सामा प्रहरीले ३० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१, मलाही टोलबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा सोही ठाउँकी ७५ वर्षीया ‘भुटी’ भन्ने भुरी चौधरीसमेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब १० बजेको समयमा गाँजा ओसारपसार गरिरहेका व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a review