पथलैयामा प्रहरी कार्यदक्षता मूल्याङ्कन टोलीद्वारा निरीक्षण

साझेदारी डेलि
26 पाठक संख्या

जीतपुर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको कार्यसम्पादन तथा व्यवस्थापन अवस्थाबारे अनुगमन र निरीक्षण गरिएको छ। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ अन्तर्गत केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहसहितको टोलीले मंगलबार कार्यालयको निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा कार्यालयको भौतिक पूर्वाधार, उपलब्ध स्रोतसाधनको व्यवस्थापन, मानवस्रोतको अवस्था तथा ट्राफिक प्रहरीबाट हुँदै आएको कार्यसम्पादनबारे जानकारी लिइएको थियो। टोलीले कार्यालयका विभिन्न शाखाबाट सम्पादन भइरहेका कामकारबाहीको समेत अवलोकन गरेको कार्यालय प्रमुख एवम् एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन।

अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए। त्यस अवसरमा उनले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी सेवाको प्रभावकारिता र कर्मचारीको जिम्मेवारीका विषयमा सकल दर्जाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएको कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले कार्यदक्षता मूल्याङ्कन कार्यक्रमअन्तर्गत मातहतका प्रहरी कार्यालयको भौतिक अवस्था, स्रोतसाधन, जनशक्ति व्यवस्थापन तथा कार्यसम्पादनलगायतका पक्षको नियमित निरीक्षण तथा मूल्याङ्कन गर्दै आएको छ।

Leave a review