कलैया । वर्षाको मौसममा बाराका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ। बाराका सहायक जिल्ला प्रमुख अधिकारी छविरमण भट्टराईले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसरी सतर्क रहन आग्रह गरेका हुन्।

मौसम विज्ञान विभागद्वारा सोमबार जारी विशेष मौसमी बुलेटिन अनुसार आगामी असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको सो विज्ञप्तिमा उल्लेख छ।

विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम–उत्तर दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारदेखि नै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मध्यम स्तरसम्मको वर्षाको सम्भावना समेत रहेको सूचनामा उल्लेख छ।
भारी देखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो आउने तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि काम गर्न प्रशासनले अनुरोध गरेको छ।
भारी वर्षा तथा हावाहुरीका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षय राजमार्ग अवरोध, चट्याङ लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त अवधिभर अत्यावश्यक काम नपरी घर वाहिर ननिस्कने र सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।जोखिमयुक्त बस्तीहरूमा पूर्व सतर्कता अपनाउन तथा उक्त अवधिभर ट्रेकिङमा नजाने र गएकाहरुले सुरक्षित स्थानमा बस्न सूचनामा भनिएको छ।
विपद् पूर्व र पश्चात् हुनसक्ने घटनालाई दृष्टिगत गरी महिला, वृद्ध, अपाङ्ग र वालवालिकाहरूलाई सुरक्षित स्थानमा राख्न सूचनामा भनिएको छ। जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र एवम् एम्बुलेन्सहरू तयारी अवस्थामा राखे साथै पानी परिरहेको तथा रातिको समयमा सकेसम्म यात्रा नगर्न भनिएको छ। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन सूचनामा लेखिएको छ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत सो सूचनामा लेखिएको छ। वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न विपदमा मद्दत माग्न जिल्ला विपद् व्यवस्थापन सिमतिको हटलाइन १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न समेत सूचनामा सुझाव दिइएको छ।
स्थानीय तहमा रहेका विपद व्यवस्थापनका फोकलपर्सनहरु २४ सैं घण्टा अलर्ट रही सम्बन्धित निकायहरुसँग सम्पर्कमा रही निरन्तर समन्वय गरि राख्न सूचनामा भनिएको छ।
स्थानीय विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार स्वयंसेवकहरुको समूह तयारी अवस्थामा राख्ने तथा विपद् प्रतिकार्यका लागी आवश्यक जनशक्ति तथा उपकरणहरु लगायतका समाग्रीहरु समेत तयारी अवस्थामा राख्न समेत सो सूचनामा लेखिएको छ।

