कलैया : राजेश कुशवाहा / बारामा ईस्वी संवतको नयाँ बर्ष २०२५ को सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्लाको १६ पालिकाका युवा युवतीहरु विक्रम संवतको नयाँ वर्ष जस्तै ईस्वी संवतको नयाँ वर्ष उल्लासका साथ मनाउन तयारी गरेका हुन।उनीहरु नयाँ बर्ष मनाउनका लागि मंगलबार सांझ नै स्थानीय बजारहरुमा किनमेल गरेका छन।
जिल्लाको कलैया,प्रसौनी,परवानीपुर,फेटा,मटिअर्वा,बरियारपुर,गञ्जभवानीपुर,बेनौली,कवहीगोठ,सिम्रौनगढ,कचोर्वा लगायतको स्थानमा रहेको बजारमा किनमेल गर्नेहरुको घुईचो लागेको छ ।
नयाँ वर्ष मनाउनका लागी बाराका युवा युवतीहरु नेपालको प्रसिद्ध स्थलमा जाने तयारी गरेका हुन।नयाँ वर्ष मनाउनका लागी बाराको प्रसिद्धस्थलहरुमा समेत भिड लाग्ने गरेको सिम्रौनगढका स्थानीय पत्रकार रामेश्वर मेहताले बताएका छन्।
बाराको चारकोशे झाडीस्थित सहजनाथ महादेव मन्दिर,गढीमाई मन्दिर,सिम्रौनगढ स्थित रानीवास मन्दिर,झरोखर पोखरी,लगायतका स्थानमा नयाँ वर्ष मनाउनेहरुको घुईचो लाग्ने गरेको पत्रकार मेहता बताउँछन्।
नयाँ वर्ष मनाउन छिमेकी देश भारतका युवा युवतीहरु सिम्रौनगढमा आउने गरेको उनले बताए। पछिल्ला केही वर्ष देखी नेपालमा पनि ईस्वी संवतको नयाँ वर्ष मनाउन थालिएको छ ।

