कलैया । बाराको फेटा गाउँपालिकाले हैजा विरुद्ध जनचेतना अभियान सुरु गरेको छ। गाउँपालिकाले आफ्ना सबै वडामा बिहीबारदेखि हैजा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन थालेको हो।
“हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगबाट बच्न स्वस्थ व्यवहार अपनाऔँ” भन्ने मूल नारासहित अभियान अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिएका छन।
गर्मी तथा वर्षायाममा झाडापखाला र हैजा जस्ता रोग फैलने सम्भावना बढी हुने भएकाले सावधानी र सतर्कता अपनाउनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ । हैजाका लक्षणहरूमा पेट दुख्ने, वाकवाकी वा बान्ता हुने, असाध्यै तिर्खा लाग्ने तथा पातलो दिसा हुने मुख्य लक्षण हुन्।
अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाले घरमै गर्न सकिने उपचारबारे जानकारी दिँदै झाडापखाला भएमा एक लिटर सफा पानीमा एक पुरिया जीवनजल घोलेर पटक–पटक खान दिनुपर्ने, प्रशस्त मात्रामा सफा तथा तरल पदार्थ सेवन गराउनुपर्ने, सजिलोसँग पच्ने नरम खाना थोरै–थोरै गरेर दिनुपर्ने, स्वास्थ्यकर्मीको सिफारिसअनुसार जिड्डू चक्की सेवन गराउनुपर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन।
बिरामीले खानपिन गर्न नसक्ने अवस्था आएमा, दिसामा रगत देखिएमा, बारम्बार बान्ता भइरहेमा, अत्यधिक तिर्खा लागेमा, ज्वरो आएमा वा धेरै पटक पातलो दिसा भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजान आवश्यक हुन्छ।
यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

