Sajhedari Daily
Latest News from Nepal

पोखरिया नगरपालिकाको बल्ल बजेट पारित

राम मण्डल /
तीन महिना ढिला गरि पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक बर्ष २०७८/७९ को बजेट पारित गरेको छ । असार १० गते बजेट ल्याएर असार मसान्त भित्रै पारित गर्नुपर्ने बजेट तीन महिना ढिलो गरि पारित भएको हो । जनप्रतिनिधीहरुबीचको भागबण्डा नमिल्दा लामो समयसम्म पारित हुन नसकेको बजेट तीन महिना पछि पारित भएको छ ।

नगरपालिकाको चालु आर्थिक बर्ष २०७८÷७९ को बजेट सोमबार पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले जानकारी दिए ।नगरपालिकाले चालु आर्थिक बर्षको लागि कुल रु ५० करोड ६२ लाखको बजेट पारित गरेको हो । कोईरालाले समयमै बजेट पारित हुन नसक्नुमा बिभिन्न कारणहरु रहेको बताउदै ढिलै भएपनि सोमबार चालु आर्थिक बर्षका बजेट पारित भएको बताए ।

बजेट पारित भएसँगै सुत्रमा बजेट राखिएपछि तीन चार दिनको अवधिभित्रमा खर्च गर्न मिल्ने उनको भनाई छ ।बजेट पारित नहुदा नगरपालिकाका कर्मचारीहरुले दशैं पर्बमा समेत तलब भता पाउन नसकेका थिएनन ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आ–आफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेटपारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेकोे छ । तर त्यसलाई मिच्दै पोखरिया नगरपालिकाले तीन महिनापछि चालु आर्थिक बर्षको बजेट पारित गरेको हो ।

नगरपालिकाले गत असार १० गते नै आर्थिक बर्ष २०७८÷७९ को बजेट पेश गरेको थियो ।बजेट पेश भएपनि नगरपालिकाका वडाध्यक्ष लगायतका जनप्रतिनिधीहरुले समयमै वडाबाट योजनाहरु छनौट गरेर नपठाएपछि समयमै बजेट पारित हुन सकेको थिएनन ।नगरपालिकाका अधिकाँश वडाध्यक्षहरुले आफुले चाहेको अनुसार नै योजना बजेटमा पार्न खोज्दा बजेट पारित हुन ढिलो भएको नगरपालिका स्रोतको दावी छ ।

Comments are closed.

error: Content is protected !!