जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीमा रुखमा अंगालो अभियान सम्पन्न भएको छ ।
वन जंगल विनाश हुँदै गएकोले यसको संरक्षणका लागि स्थानीयले रुखलाई अंगालो हालेर रुखमा अंगालो अभियान सञ्चालन गरेका हुन् ।
टाँगियाबस्तीमा करिब २ सय स्थानीयबासीहरुले सहभागितामा प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थलले बस्ती, वन,वातावरण र जैविक विविधतामा परेको नकारात्मक असरबारे गुनासो गरेका थिए ।
कार्यक्रममा वन विज्ञ भोला भट्टराईलाई स्थानीयले आफ्नो गुनासो पोखेका थिए । वन विज्ञ भट्टराईले वन जंगल नासेर कुनै पनि विकासका काम हुन नहुने बताउँदै टागियाबस्तीको स्थायित्व हुनुपर्ने कुरामा समेत जोड दिनुभयो ।
उहाँले टाँगियावस्तीका स्थानीयको सबै गुनासोलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने प्रतिबद्वता समेत जनाउनुभयो ।
कार्यक्रममा टाँगियावस्तीका युवा अगुवा नवराज सन्जेल र हलखोरिया साझेदारी वनका अध्यक्ष बिकल्प भट्टराईले समेत स्थानीयको वन वातावरण सम्बन्धि अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गर्नुभयो ।

