उन्नत जातको बिरुवा र गड्यौला मल चाहिएमा परसवामा आउनुस्

रञ्जन यादव
336 पाठक संख्या

बाराको जीतपुरसँग जोडिएको परसवामा पाँच बिगा क्षेत्रफलको जग्गामा उन्नत जातको बिरुवा उमार्ने र गड्यौला मल बनाउँने काम भईरहेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ३२ मा अवस्थित श्रीराम निकेतन बायोटेक प्रा.लि.को नर्सरीमा अत्याधुनिक टिसु कल्चर प्रबिधिबाट उत्पादित केरा,मेवा,भुईकटहर,ड्राइगन फु्रट,सहजन,बाँस लगायतका उन्नत जातका बेरनाहरु उमार्ने गरिएको फोकल पर्सन अमलेश मिश्राले जानकारी दिनुभयो ।

त्यस्तै कागती,नेम्बु तथा आलुको पुर्ब मुल बिउ खुमल रातो ,जनकदेव,डेजिरे,कार्डिनल आई.पि.आई.२००८ ,एम.एस.४२ लगायतका बिउँ उत्पादन हुने मिश्राले बताउँनुभयो । करिब ५ बर्ष अगाडि परसवामा खोलिएको (हार्डेनिङ्ग सेन्टर) नर्सरीमा उत्पादन गरिएका बिउँ र बेरनाहरुलाई बारा,पर्सा,रौतहट,चितवन,नवलपरासी,धनगढी ,सर्लाही,बिराटनगर लगायतका ठाउँहरुमा नेपालभरी पठाउँने गरिन्छ ।

सबैभन्दा बढी यहाँ आलुको पुर्ब मुल बिउ र केराको बेरना बिक्रि हुने गरेको जनाईएको छ । बार्षिक रुपमा आलुको बिउँ २ देखि ३ लाख वटा सम्म र केराको बिउँ ६ लाख वटा सम्म बिक्रि हुने गरेकोे फोकल पर्सन अमलेश मिश्राले जानकारी दिनुभयो । बार्षिक रुपमा करिब १० लाख सम्म बिभिन्न प्रजातिका बेरनाहरु परसवा स्थित नर्सरीमा उत्पादन हुँदै आएको छ ।

समय परिस्थिती अनुसार नर्सरीमा ३० देखि ६० जनासम्म कामदारहरु काम गर्दै आएका छन् ।माघ देखि भाद्र महिनासम्म बिउँ र बेरनाको माग बढी हुने गरेका कारण ६० जना सम्म कामदारहरु राख्ने अवस्था आउँने गरेको अमलेश मिश्राले बताउँनुभयो ।

त्यस्तै नर्सरीकै कम्पाउन्ड भित्र गड्यौलाबाट उत्पादित गड्यौला मल उत्पादन गरीरहेको छ । उक्त मललाई श्रीराम निकेतन बायोटेक प्रा.लि.ले भु बृद्धि माटोको साथी नामको मल ब्राण्डिङ्ग गरी बिक्रिबितरण गरिरहेको छ । श्रीराम निकेतन बायोटेक प्रा.लि.काठमाडौँको टिसु कल्चर ल्याब गोदावरी लतितपुरमा रहेको छ ।

स्तरीय बिरुवा दिन नेपालको एउटा मात्र निजी क्षेत्रको श्रीराम निकेतन बायोटेकको मदर ओरचड( माउ बगैचा) नेपालमा छ ।जुन माउ रुखबाट सुन्तला र कागतीको बिरुवाहरु उत्पादन गर्ने गरेको नर्सरीका फोकल पर्सन मिश्राले जानकारी दिनुभयो ।

नर्सरीबाट बिउँ र बेरना लगेर खेती गर्ने किसानहरुलाई निशुल्क रुपमा खेतमा गई बिरुवा परिपक्क नहुँदा सम्म प्राबिधिक सेवा निशुल्क प्रदान गर्ने गरिएको श्रीराम निकेतन बायोटेकले जनाएको छ ।

Leave a review