राम मण्डल/
मालपोत कार्यालय पर्सामा बिहीबार अबेर रातिसम्म काम गरिरहेको अवस्थामा कार्यालयका कर्मचारीसहित जिल्ला प्रशासन कार्यालयले २१ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रशासन कार्यालय पर्साबाट प्रहरीसहित खटिएको टोलीले कार्यालयमा राति पौने ९ बजे छापमारी गरेको थियो । सो क्रममा मालपोत पर्साका निम्ति प्रमुख सुमन झा सहित अन्य कर्मचारी गरि १४ जना कर्मचारी र ८ जना लेखापढी ब्यावसायी पक्राउ परेका हुन ।
राति साढे ८ बजेको समयमा पनि मालपोतमा काम भईरहेको सुचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई केही कागजातसहित नियन्त्रणमा लिईएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी गराएका छन ।
पक्राउ परेका सबै कर्मचारीहरुलाई काममा बाधा नपुगोस भनी छाडिएको तथा लेखापढी ब्यावसायीहरुलाई भने सो्धपुछका लागि नियन्त्रणमै राखिएको पौडेलले बताए । राति ८ बजेसम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले कार्यालय प्रमुखसहित कर्मचारीसँग सनाखत समेत गराइएको छ ।
छापामारीको क्रममा मालपोत कार्यालयको दराजबाट केही पैसा समेत टोलीले बरामद गरेको थियो । सो रकम सेवाग्राहीहरुले घुस बापत दिएको हुन सक्ने भन्दै प्रशासनले छानबिन गरिरहेको सहायक प्रजिअ पौडेलले जनाएका छन ।