प्रधानमन्त्री कप छनोट उपाधिको लागी बारा र पर्सा भिड्ने

साझेदारी दैनिक
382 पाठक संख्या

नवराज चौलागाईं/

मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधिको लागी बारा र पर्सा भिड्ने भएका छन् ।

सेमिफाइनल खेलहरुमा बारा र पर्सा बिजयी भएसंगै फाइनल पुग्ने जिल्लाहरुको मंगलबार टुङ्गो लागेको हो ।

कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा बाराले धनुषालाई १० रनले पराजित गरेको हो ।

खराब मौसमका कारण २४ ओभरमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बाराले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २४ रन बनायो । बाराका लागी अरनिको यादवले ४० बलमा ३८ रन बनाए । साहिल पटेलले ४१ बलमा ३३ रन बनाए ।

धनुषाका लागी विक्रान्त कुमार यादवले २९ रन खर्चिएर चार विकेट लिए । एक सय २५ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको धनुषाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय १४ रन मात्र बनाउनसक्यो ।

धनुषाको लागी हरि शंकर साहले ३३ बलमा ३४ रन बनाए । मयङ्क यादवले २९ रन बनाए । बाराका कप्तान अनिल कुमार साहले १८ रन खर्चिएर चार विकेट हात पारे ।

बाराको जितमा सर्वाधिक रन बनाएका अरनिको यादव खेलको प्लेयर अफ द म्याच बने । अर्को सेमिफाइनलमा पर्साले सिरहालाई २ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सिरहाले २१.२ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्र बनाउनसक्यो । सिरहाको लागी कृष्ण साहले ४७ बलमा २९ रन बनाए । पर्साका साम्सद मंसुरीले १९ रन मात्र खर्चंदै ३ विकेट हात पारे ।

१ सय ७ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पर्साले २२.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । पर्साका सफवान अन्सारीले ३२ बलमा २९ रन बनाए । सिरहाका प्रदिप पासवानले १३ रन मात्र खर्चिएर तीन विकेट लिए । उनले सिरहालाई हारबाट जोगाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच पर्साका साम्सद मंसुरी बने ।

प्रतियोगिताको उपाधिको लागि बारा र पर्सा बिच वीरगंजको नारायणी रंगशालामा फाइनल भिडन्त हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोलागी मधेस प्रदेशको टोलि छनोट हुने यस प्रतियोगितामा मधेसका ८ वटा जिल्लाले सहभागिता जनाएकाथिए ।

Leave a review

This will close in 0 seconds