व्यवसायी अरुण चौधरीसहित तीन जना पक्राउ

साझेदारी दैनिक
407 पाठक संख्या

प्रहरीले बिहीबार व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपिएको मामलामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।

सीआईबीकी प्रमुख किरण बज्राचार्यका अनुसार ब्यूरोका एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले मालपोत र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुराना कागजात अध्ययन गर्नेदेखि लिएर आवश्यक प्रमाण जुटाउने काम गरिरहेको थियो ।‘त्यसक्रममा फेला परेका प्रमाणहरुले अरुण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने देखियो’उनले भनिन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार,बाँसबारीको सरकारी जग्गा पछिल्लो समय सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो । यसको अध्यक्ष अहिले सञ्जय ठाकुर र सदस्यमा अरुण चौधरी र उनकी पत्नी शिला चौधरी छन् ।

‘तीमध्ये प्रभाव र पहुँचको आधारमा कसले जग्गा हत्याउन सक्छ भन्ने प्रहरीले हेर्ने भयो,त्यसपछि बिहीबार अरुण चौधरीलाई पक्राउ गर्नुपर्छ भन्ने भएपछि नियन्त्रणमा लिन टोली परिचालित भएको थियो’,बज्राचार्यले भनिन् ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार,सरकारी जग्गा हडप्नकै लागि च्याम्पियन फुटवेयरको स्थापना भएको देखिन्छ । जिल्ला अदालत,काठमाडौंले चौधरी र थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार अपरान्ह प्रहरीले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि (शुक्रबार) अदालत उपस्थित गराउने तयारी छ । पक्राउ परेकाहरुको बयान लिएर शुक्रबारदेखि विस्तृत अनुसन्धान थालिने एआईजी बज्राचार्य बताउँछिन् ।

Leave a review

This will close in 0 seconds