सार्वजनिक सूचनाको बोर्ड बिना बारामा निर्माण कार्य,पारदर्शीतामाथि उठयो प्रश्न

संदिप प्रसाद यादव
486 पाठक संख्या

कलैया : कही नभएको जात्रा हाडीगाउँमा भने झै विकास निर्माणको सन्दर्भमा बारामा गोप्यताको रोग लागेको छ। यो रोगले कागज बाहिर भइरहेको विकासमा गोप्यता व्याप्त रहेको छ।

कागजभित्र भइरहेको विकास निर्माण कसैलाई थाहा नै हुदैन। यस्तो कागजी विकासलाई मिलिजुली वसौं बाडिचुडी खाउँ भन्ने गरिन्छ। यहाँ मधेस प्रदेश सरकारको बजेटमा सञ्चालित योजनाहरूको कुरा गर्न खोजिएको हो। यस अन्तर्गत बारा जिल्लामा निर्माण कार्यहरूमा सार्वजनिक जानकारी बोर्ड नराखी काम भइरहेको पाइएको छ।

सार्वजनिक खरिद नियमावली अनुसार सरकारी योजनाहरु संचालन गर्दा आयोजना सम्बन्धी सम्पूर्ण जानकारी सहितको होर्डिङ बोर्ड निर्माणस्थलमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर बारामा संचालित सम्पूर्ण योजना बिना सार्वजनिक सूचनाको बोर्ड निर्माण कार्य भैइरहेको पाइएको हो ।

स्थानीय बासिन्दाहरूले जानकारी बिना नै निर्माण कार्य सुरु गरिएको भन्दै पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएका छन्। एक स्थानीयवासीका अनुसार,“के काम हुँदैछ,कसले गरिरहेको छ,कति बजेट छ – केही थाहा छैन।

बारा जिल्लाको १६ औ स्थानीय तहमा भइरहेको योजनाहरूको स्थलगत निरीक्षण गर्दा कतै पनि योजनाको नाम,लागत,ठेकेदार,म्याद आदि विवरण उल्लेखित बोर्ड देखिएन। सार्वजनिक सूचनाको बोर्ड नराखिएको अवस्था भ्रष्टाचार वा बजेट दुरुपयोग हुने स्थानीय सुरेश यादवको आरोप छ।

यता भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पुकुमारी यादवसंग बुझ्दा सार्वजनिक सूचनाको बोर्ड राख्न लगाउछौ,लगाएन भने बोर्डको रकम २ वा २ हजार ५ सय रुपैयाँ काट्ने उनले बताइन्।

निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले भनिन् । साइट इन्जिनियरहरु आ– आफ्नो समय मिलाएर साइटमा खटिरहेको उनले बताइन् । इस्टिमेट अनुसार निर्माण कार्य भईरहेको छ यदि त्यस्तो छैन भने साइट इन्जिनियरलाई भनेर सुधार लगाउन उनले समेत भनिन् ।

त्यसैगरी साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ।

भौतिक पूर्वाधारको अनुगमन नहुदा यस्तो समस्या बढेको हो। उपभोक्ता समिति गठन गरि ठेकेदार मार्फत काम भइरहेको छ। यस्तो कामबारे उपभोक्ता समितिलाई थाहा हुदैन,सबै काम ठेकेदारले नै गर्ने गरेका उपभोक्ता समितिका सदस्यहरु बताउछन्।

Leave a review