वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको समर्थनमा वीरगञ्जमा प्रदर्शन भएको छ ।
सिंह विरुद्ध अर्काको छोरीलाई आफनो छोरी बनाएर नागरिकता दिलाएको भनि उजूरी परेपछि उनको पक्ष र बिपक्षमा प्रदर्शन भईरहेको छ ।
गत पुस २४ गते मेयर सिँह बिरुद्ध जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न निकायमा उजूरी परेको हो । यसपछि उनको पक्ष र बिपक्षमा प्रदर्शन शुरु भएको हो ।मेयर सिँहमाथि रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई आफनो छोरी बनाई नागरिकता दिलाएको आरोप छ ।
उजूरी दर्ता भएपछि सचेत नागरिक समाज वीरगञ्जले मेयर सिँहको बिरोध गर्दै प्रदर्शन गरेको थियो ।नागरिकता प्रकरण छानबिन गरी दोषीमाथि कारवाहीको माँग गदै सचेत नागरिक समाजले विरोध प्रदर्शन गरेको थियो । बिहीबार भने मेयर सिँहको चरित्र हत्या भएको भन्दै उनको समर्थनमा प्रदर्शन भएको हो ।
वीरगञ्जको विकास देख्न नचाहनेहरु विरुद्ध मेयर सिँह उभिएको भन्दै उनको समर्थनमा नागरिक समाज वीरगञ्जले र्याली निकाल्दै प्रदर्शन गरेको थियो ।बिरोध प्रदर्शनमा सहभागी चरित्र हत्या गर्न पाईदैन,वीरगञ्जको शान मेयर राजेशमान,धेरै आए बोल्ने बल्ल पाईयो काम गर्ने,वीरगञ्जबासीको एउटै पुकार अझै २० बर्ष राजेशमान सरकार,अघि बढ राजेशमान जनता तिम्रै साथमा छन लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।
वीरगञ्जको विकास नचाहनेहरुले मेयर सिँहको बिरुद्धमा अनावश्यक रुपमा बिरोध गरिरहेको वीरगञ्ज महानगरपालिका–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले बताए ।बिगत दस बीस दिनदेखि पाँच सातजनाको समूहले मेयर सिँहको बिरुद्धमा अनावश्यक सभा सम्मेलन गरिरहेको उनले बताए ।
वीरगञ्जमा अहिले भईरहेको बिभिन्न किसिमका विकाश निर्माण कार्यहरु देखेर विपक्षीहरु आतिएको बताए। मेयर सिंह विरुद्ध गलत अफवाह फैलाइएकोले बाध्य भई नागरिक समाज मेयर सिँहको समर्थनमा प्रदर्शनमा उत्रेको स्थानीय जितेन्द्र पटेलको भनाई छ ।
वीरगञ्ञ्ज महानगरका मेयर सिँह बिरुद्ध झुठो विवरण पेश गरी अर्काको छोरीलाई नागरिकता दिलाएको उजूरी माथि जिल्ला प्रशासनले अहिले अनुसन्धान र छानबिनमै रहेको छ । तर नागरिकता प्रकरणलाई नै जोडेर मेयर सिँहको बिरुद्धमा र समर्थनमा वीरगञ्जमा प्रदर्शन भईरहेको छ ।

